लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारी

-


     क्लिक गण्डकी     
     माघ २७ गते २०७९ मा प्रकाशित


झिलमिल पोखरा

पोखरा, २७ माघ/ पोखराको लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको निर्देशन र पर्यटन व्यवसायीको माग अनुसार फेवाताल लेकसाईडलाई चौविसै घण्टा खोल्न दिने तयारीका लागि छलफल भएको हो । तर त्यसका लागि पर्यटन व्यवसायी आचारसंहिताको पालना गनुपर्ने हुन्छ ।

चौविसै घण्टा खोल्नुअघि कास्कीका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को रोहवरमा सर्वदलीय/सर्वपक्षीय शुक्रबार बैठक बसेर आचारसंहिता बनाईने बताइएको छ । पर्यटन व्यवसायीहरुले प्रहरीले दश नबज्दै होटल/रेष्टुरेण्ट बन्द गर्न निर्देशन दिने, लेकसाईड प्रवेशका नाकाहरुमा मादक पदार्थ सेवन (मापसे) चेकिङ गर्ने गरेर दुःख दिदा व्यवसाय चौपट भयो भन्दै मुख्यमन्त्री खगराज अधिकारी समक्ष गुनासो गरेका थिए ।

पटक÷पटकको गुनासोपछि मुख्यमन्त्री अधिकारीले कार्यक्रम स्थलबाटै सिडिओ टेकबहादुर केसी र एसपी अजय केसीलाई फोन गरेर लेकसाईडका व्यवसाय चौविसै घण्टा खोल्ने वातावरण बनाउन निर्देशन दिएका थिए ।

माघ २१ गते पोखरा पर्यटन परिषदको कार्यक्रम स्थलबाट फोन गरेर पहिलोपटक दिएको निर्देशन कार्यान्वयन नभएपछि मुख्यमन्त्री अधिकारीले विहीबार महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)को कार्यक्रम स्थलबाटै एसपी र सिडिओलाई पुनः फोन गरेर निर्देशन दिए । लगत्तै उनले पर्यटन व्यवसायीहरुलाई छलफलका लागि आफूले पठाउने भन्दै उनीहरुका माग सम्बोधन गर्नपनि भने ।

पर्यटन व्यवसायीलाई एसपी केसीले व्यवसायमा अवरोध गर्ने प्रहरीको नियत नभएको प्रष्ट्याएका थिए । उनले आचारसंहितामा बाँधिएर व्यवसाय गर्नेलाई बाधा अवरोध नगरेको र आगामी दिनमापनि नगर्ने बताएका थिए । पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले एसपीसँगको भेट सकारात्मक भएकाले चाँडै लेकसाईड चौविसै घण्टा खुल्ने वातावरण बन्नेमा आशावादी भएको बताए ।

पोखराको लेकसाइडलाई २४सै घण्टा खुलाउने विषयमा पटक पटक निर्णय र निर्देशन भएपनि अहिले सम्म संचालन हुन सकेको छैन ।