
पल शाह
तनहुँ, ४ माघ/ नाबालिका बलात्कारको आरोपमा मुद्धा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ ।
मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको हो ।
जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । जोशीलाई उक्त प्रकरणमा सहयोगी भूमिका खेलेको आरोप थियो ।
एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ र नवलपरासी पूर्वमा शाहमाथि मुद्दा दायर भएको थियो ।
सोही मुद्दामा जिल्ला अदालत नवलपुरले शाहलाई बलात्कार मुद्दामा सफाइ दियो भने बाल यौन दुरुपयोग आरोपमा २ वर्ष ६ महिना जेल सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
तनहुँले सफाइ दिएपनि नवलपुरले दिएको साढे २ वर्ष जेल सजाय भोगनु पर्दछ ।





