भारतमा प्याराग्लाइडिङमा पदक जित्ने खेलाडीलाई प्रदेश खेलकुदको सम्मान

-


     क्लिक गण्डकी     
     पौष २८ गते २०७९ मा प्रकाशित


प्याराग्लाडिङ

प्याराग्लाडिङ

पोखरा, २८ पुस/ भारतको मेघालयको राजधानी शिलङमा सम्पन्न मेघालय खुल्ला प्याराग्लाडिङ च्याम्पेन्सिप तथा एशियन लिग २०२२ प्रतियोगितामा बिजेता गण्डकी प्रदेशका खेलाडीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीले सम्मान गरेको छ ।

डिसेम्वर ७ देखि १० तारिख सम्म भएको प्रतियोगितामा नेपालबाट सहभागि मध्ये ९ जना खेलाडीहरुले पदक जितेका थिए । परिषदले बिहीबार खेलकुदको माध्यमबाट पोखरालाई चिनाउन सहयोग गरेको भन्दै सम्मान गरेको छ । खेलाडीहरुलाई सम्मान गर्दै प्याराग्लाइडिङ खेलले नेपाललाई चिनाउन अहम भूमिका खेलेको परिषदका सदस्य सचिव घनश्याम पौडेलले बताए ।

प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले प्याराग्लाइडिङ खेलको विकासका लागि परिषद संघै तयार रहेको जनाउँदै यसका लागि आवश्य बजेट निर्माण लगायत अन्य कार्यमा परिषदले सँधै साथ दिने बताए ।

कार्यक्रममा परिषदका सदस्य तथा नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ गण्डकीका अध्यक्ष बसन्त दवाडीले प्याराग्लाइडिङ खेलले विगत साढे दुई दशक देखि निरन्तर गण्डकीलाई सहासिक खेलकुदको गन्तव्यको रुपमा पहिचान दिएको बताए । नेपाल प्रतियोगितामा दुई स्वर्ण, तीन रजत हात पारेको थियो ।

प्रतियोगिताको ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप तथा एसियन लिग च्याम्पियनशिपमा नेपालले टिम एक्युरेसीतर्फ एक स्वर्ण र एक रजत पदक प्राप्त गर्दा इन्डिभिजुअलतर्फ पुरुष तर्फ एक स्वर्ण तथा महिला तर्फ एक स्वर्ण र एक रजत प्राप्त गर्न सफल भएको थियो ।

प्रतियोगितामा टिम इभेन्टतर्फ नेपाली टोली सुशिल गुरुङ, अमन थापा, बिजय चौलागाई, सनिज थापा र जय मनीको टोलीले स्वर्ण पदक र टिमतर्फ विजय गौतम, विष्णु तिमिल्सिना, विशाल थापा, युवराज सुनुवार र सुमन जङ्ग थापाको टोलीले रजत पदक हात पारेको थियो । नेपालबाट एक्यूरेसीमा दुइ टिमले सहभागिता जनाएका थिए ।

त्यसै गरी एक्युरेसी महिला इन्डिभिजुअलमा रितु श्रेष्ठले स्वर्ण पदक हात पार्दा कृषु पौडेलले रजत पदक र पुरुषतर्फ इन्डिभिजुअलमा अमन थापाले रजत पदक प्राप्त गरेका थिए । कार्यक्रममा हालै सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङका पदक विजेता खेलाडीहरुलाई समेत नगद सहित सम्मान गरिएको थियो ।