
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा, १६ पुस/ पोखरामा निर्माण सकिएको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आइतबार हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थल उद्घाटन गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ ।
तर विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भने तत्काल नहुने भएको छ । बुद्ध एयरले १ महिनाअघि देखि अन्तर्राष्ट्रिय उडानको अनुमति मागेपनि पाएको छैन । अन्तर्राष्ट्रिय कम्पनीहरूले पनि पहिलो उडानको लागि चासो देखाए पनि सबै प्रक्रिया पु¥याएर केही महिना भित्र उडान हुने पोखरा अन्तराष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए ।
विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो । पोखरा महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ । उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र ‘सेलिब्रेशन’को जिम्मा महानगरले लिएको छ । समारोहमा जनसहभागिता गराइने महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
पोखरा महानगरपालिकाले विमानस्थल उद्घाटनअघि पोखराको अमरसिंहचौरबाट विभिन्न जातजातिको झाँकी, मौलिक वेषभूषासहितको ¥यालीको आयोजना गर्नेछ । त्यसैगरी विमानस्थलका परिकल्पनाकार तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई रथारोहणसहित नागरिक अभिनन्दन गरिने महानगर प्रमुख आचार्यले बताए । चीनको एक्जिम बैंकको २२ अर्ब सहुलियतपूर्ण ऋण र अनुदान सहयोगमा विमानस्थल निर्माण गरिएको हो ।





