नेपाल लिटरेचर फेस्टिभलको एक दशक, साङ्गीतिक महौलबीच दशौँ संस्करण शुरु

-


     क्लिक गण्डकी     
     पौष ७ गते २०७९ मा प्रकाशित


Celebrating Ten Years of the Nepal Literature Festival

Celebrating Ten Years of the Nepal Literature Festival

पोखरा, ७ पुस/ नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखरामा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा अच्युत वाग्लेले विद्वत्प्रवचन दिए।

उनले नेपाल २०९० शीर्षकमा दिएको मन्तव्यमा नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक र सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी भएको उनको भनाई थियो । मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र गौरवशाली हुने बताए ।

अबको एक दशकमा जनसङ्ख्या सवा तीन करोड पुग्ला र मुलुक जनसाङ्ख्यिक लाभको उत्कर्षमा आइपुग्ला। यो अवधिमा त मुलुकको शासकीय बागडोर पक्कै दूरदृष्टियुक्त, सुपठित, योग्य र व्यवस्थापकीय सक्रियता भएका राजनेताहरूको हातमा पर्नेछ, उनले भने।
तर, हामीले अपेक्षा गरेका सबै पक्षहरूमा सोचेजस्तै उपलब्धिहरू हासिल भए भनेपनि त्यतिले मात्रै दशकपछिको नेपालको अनुहारलाई भविष्यको कुरा छोडौँ, वर्तमान विश्वकै औसत कोटीका विकसित मुलुकहरूको हाराहारीमा पनि उभ्याउन नसक्ने उनको मत थियो।

कार्यक्रमको सुरुवातमा नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले स्वागत मन्तव्य राखेका थिए। सन् २०११ मा सुरु भएको फेस्टिभलले एक दशक लामो यात्रा तय गरेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गर्दै पोखराको गौरवको विषय भएको बताए । पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर पाएको छ। यसको निरन्तरता यहीँ हुनुपर्छ र सबै पोखरेलीहरूले यसलाई सम्बोधन गर्नु पर्ने आचार्यले भने।

गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले पनि यस साहित्यिक महोत्सवको महत्त्वबारे चर्चा गरे। गण्डकीको भाषा, संस्कृतिको प्रवर्द्धन तथा उत्थानका लागि बुकवर्म फाउन्डेसनसँगको सहकार्यलाई निरन्तरता दिने बताए।

पहिलो दिन बाल विकास विज्ञ डा मीनाक्षी दाहालसँग ूघरबाट स्कुलसम्मू शीर्षकमा फिशटेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले छलफल गरे। उनीहरूले बालबालिकाको विकासक्रममा अपनाउनु पर्ने संवेदनशीलतालगायत विविध पक्षहरूबारे अन्तर्क्रिया गरेका थिए।

एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा। दाहालको भनाई छ। उनले एउटै विद्यालयमा फरक तरिकाले सिकाइ विधि अपनाउँदा विद्यालयबाटै वर्गीय उत्पादन भइरहेको बताइन्।

सरकारी नियमन, मापदण्ड नबनाइदिँदा अहिले स्कुल नै वर्गीय उत्पादन हुने देखिन्छ। सिकाइको खाडल त्यहीबाट सुरु भएको देखिन्छ,’ डा दाहाल भन्छिन्, ‘निजी विद्यालयको सिको गरेर अङ्ग्रेजी बनाउने, प्रवेश परीक्षा लिनुपर्ने गर्न थालेका छन् । यो एकदमै विभेद छ, वर्गीकरण छ ।’

कार्यक्रममा वरिष्ठ सङ्गीतकार गोपाल योञ्जनका गीतहरूको साङ्गीतिक प्रस्तुतिसमेत भयो। उक्त कार्यक्रममा कवि नवराज पराजुलीले योञ्जनका कृतिहरू वाचन गरे। त्यस्तै उज्ज्वल सागर, बानिका प्रधानलगायत गायकहरूले उनको गीत गाए।
फाइनप्रिन्टद्वारा प्रकाशित गोपाल योञ्जनका गीतहरूको सङ्ग्रह गोपालय समेत उक्त कार्यक्रममा लोकार्पण भएको छ ।



Tags: