
पोखरामा ९ जना बृद्धा महिला सुनका गहना चोरेको आरोपमा एक जना पक्राउ
पोखरा, १ पुष/ पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् ।
श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । अपरिचित एक महिलाले गहना चोरी गरेको उजुरी दिएपछि वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले श्रेष्ठलाई बुधबार पक्राउ गरेको हो । उनको साथबाट सुनका गहना र नगदसमेत बरामद भएको छ । उनले २७ लाख २ हजार ५८ रुपैया बराबरको नगद चोरी गरेको आरोप छ ।
श्रेष्ठलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रवक्ता खड्काले बताए । कास्की प्रहरीले यस्तै प्रकृतिका चोरीका घटना भएका अन्य कोही पीडित भए पनि प्रहरी उजुरी दिन अनुरोध गरेको छ ।
जाहेरवाला/पीडित तथा चोरी भएका धनमालको विवरण :
| जाहेरवाला | पीडित | ठेगाना | चोरी भएको धनमालको विवरण | चोरी भएको धनमालको अं. मूल्य |
| मधु ढुङ्गाना | वर्ष ७८ की दुर्गा कुमारी पाध्य | पोखरा ११ रानीपौवा | सुनको सिक्री-१, तिलहरी-१, झुम्का १ जोर, पञ्चरत्ने बाला-२, औठी-३ र टप १ जोर | रु. २,६१,०५८।- |
| रिखी माया सापकोटा | वर्ष ८३ की रिखी माया सापकोटा | पोखरा १३ पाटनबेशी | सुनको सिक्री १ र औठी १ थान | रु. ३,००,०००।- |
| गौमाया थापा | वर्ष ७० की तिल कुमारी थापा | पोखरा १२ माटेपानी | सुनको बाला २ जोर | रु. ८,००,०००।- |
| लक्ष्मी कोईराला | वर्ष ७९ की लक्ष्मी कोइराला | पोखरा ४ गैह्रपाटन | सुनको सिक्री १ थान | रु. २,००,०००।- |
| टोक बहादुर गुरुङ | वर्ष ९० की शान्ति माया गुरुङ | पोखरा १२ उपकर मार्ग | सुनको सिक्री १ थान | ३,५५,२५०।- |
| ठग कुमारी महत क्षेत्री | वर्ष ८७ की ठग कुमारी महत क्षेत्री | पोखरा ११ फुलवारी | सुनको सोवकी १ थान, औँठी १ थान र नगद रु. ५०,०००।- | रु. १,५०,०००।- |
| दुर्गा गिरी | वर्ष ५४ की सिता माया गिरी | पोखरा १५ गलेश्वर मार्ग | सुनको मंगलसुत्र १ थान | रु. २५,०००।- |
| शान्ति पोख्रेल | वर्ष ६५ की मधु माया पौडेल | पोखरा २७ कास्की | सुनको मंगलसुत्र १, झुम्का २, चुरी १, औठी २, चन्द्रामा १, तिलहरी १ थान र नगद रु. ३०,०००।- | रु. ३,५७,०००।- |
| सुर्य ब. थापा मगर | वर्ष ८२ की डुमा देवी थापा | पोखरा १० मिलन टोल | ६ तोलाको सुनको बाला १ थान | रु. ६,०९,०००।- |
| जम्मा | २७,०२,०५८।- |





