नेपालमा मध्यराति ६.६ म्याग्निच्यूडको भूकम्प, घर भत्किँदा ६ जनाको मृत्यु

-


     क्लिक गण्डकी     
     कार्तिक २३ गते २०७९ मा प्रकाशित


भूकम्प

भूकम्प

बझाङ, २३ कार्तिक/ डोटीमा मंगलबार मध्यराति २ बजेर १२ मिनेटमा ६ दशमलब ६ म्याग्निच्यूडको भूकम्पले घर भत्काउँदा ६ जनाको मृत्यु भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दू बनाएर भूकम्प गएको जनाएकोछ ।

पूर्बीचौकी गाउँपालिकाको वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किंदा घरमा च्यापिएर ६ जनाको मृत्यु भएको र १ जना उद्धार गर्न बाँकि रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी भोला भट्टले जानकारी दिए । ५ जना घाइते रहेका र तिनीहरूको उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए ।

थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीय सहितको टोलिले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । अधिकांश स्थानीयका घरहरू भत्किएका छन् । भूकम्पका कारण सायल गाउँपालिका क्षेत्रको समेत ठाउँ ठाउँमा पहिरो गएको स्थानीयले जानकारी दिएका छन् ।

यसअघि राति ९ बजेर ७ मिनेटमा डोटी केन्द्रविन्दू भएर ५ दशमलब ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङ, बाजुरा, अछाम, डोटी, कैलाली, बैतडी, दार्जुला र डडेल्धुरा लगाएतका जिल्ला र चिनमा समेत भूकम्पको धक्का महसुस गरिएको स्थानीयले बताएका छन् । कतिपय ठाउँमा भूकम्प लगत्तै सर्वसाधारण घरबाहिर निस्किएका थिए ।

डोटीमा केन्द्रविन्दु बनाइ आएको भूकम्पले घर भत्किंदा ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटी स्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाइ ६.६ म्याग्निच्युडको भूकम्प गएको हो ।



Tags: