मदरल्यान्डमा २० औंँ वार्षिक खेलकुद

-


     क्लिक गण्डकी     
     कार्तिक ४ गते २०७९ मा प्रकाशित


मदरल्यान्डमा २० औंँ वार्षिक खेलकुद

मदरल्यान्डमा २० औंँ वार्षिक खेलकुद

पोखरा, ४ कात्तिक/ पोखराको मासबारमा रहेको मदरल्याण्ड माविले शुक्रबार २० औ बार्र्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । कक्षा नर्सरीदेखि १० सम्मका विद्यार्थीलाई आयोजना गर्दै आएको वार्षिक खेलकुद कार्यक्रम विभिन्न विधामा विद्यार्थीहरुले भाग लिएका थिए ।

एक हप्ता अघिदेखि विभिन्न चरणमा सञ्चालन तथा छनौट गरिँदै आएको कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा चारसम्म स्पून रेस, मिठाई दौड, म्युजिकल चियर, व्यालेन्स खेल, प्लेट रेस, ड्रेस अप रेस, बेलुन ब्रस्टमा विद्यार्थीले सहभागीता जनाएका थिए । कक्षा पाँचदेखि कक्षा दशसम्म जुनियर र सिनियर गरी दुई तहमा बास्केटबल, भलिबल, टेबलटेनिस, बुद्धिचाल, विभिन्न दौड, रिले र एथ्लेटिक्स, टग अफ वार लगाएतका खेलमा भाग लिएका थिए ।

कक्षा नर्सरीदेखि कक्षा चारसम्म सम्पूर्ण खेलहरू खुल्ला प्रतिस्पर्धाको गरेका थिए । कक्षा पाँचदेखि दससम्म खुला तथा अन्तरसदनात्मक रूपमा सञ्चालन गरिएको विद्यालयले प्राचार्य नारायण बरालले जानकारी दिए । प्रतियोगिताको नबौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिलातर्फको आर्चरी प्रतियोगितामा कास्य पदक विजेता मदरल्याण्डकी कक्षा १२ मा अध्ययनरत सोलीना गुरुङले बेलुन उडाएर उद्घाटन गरेकी थिइन् ।

खेल र पढाइलाई मनोरञ्जनपूर्ण तरिकाले एकैसाथ अगाडि बढाउनका लागि विद्यालयभित्र गठित हरियो, पहेँलो, रातो र निलो गरी चार सदनबिच अन्तरसदनात्मक रूपमा प्रतियोगिता भएको थियो । यस वर्षको उत्कृष्ट सदनको उपाधि शिक्षक मनोज थापा संयोजक रहेको पहेँलो सदनले हात पारेको छ भने अनुशासनतर्फको उपाधि शिक्षिका चन्दना थापा संयोजक रहेको रातो सदनले हात पारेको छ। विजयी सदन तथा खेलाडी विद्यार्थीहरूलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको छ ।

विद्यालयका प्राचार्य नारायण बराल, विद्यालयका खेलकुुद विभागीय प्रमुख गङ्गा गुरुङ, आधारभूत तह कक्षा चारदेखि आठसम्मका इन्चार्ज अजय कुँवर, आधारभूत तह कक्षा नर्सरीदेखि तीन सम्मकी इन्चार्ज केशु शर्मा र विद्यालयका सहकार्यकलाप प्रमुख सुनिल सुवाल लगाएतले खेलले विद्यार्थीको हौसला बढेको बताएका थिए । सोही अवसरमा हालै सम्पन्न राष्ट्रिय खेलकुद प्रतियागितामा कास्य पदक प्राप्त सोलीना गुरुङलाई सम्मान गरेको छ ।