फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

-


     क्लिक गण्डकी     
     मंसिर १२ गते २०८३ मा प्रकाशित


फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

फेवा किङ्स कपमा एपिएफ, पुलिस र गण्डकी विजयी

पोखरा, ११ मंसिर / युनाइटेड किङ्स क्लब पोखराको आयोजनामा भएको ‘फेवा किङ्स कप राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत तेस्रो दिनमा एपिएफ, पुलिस र गण्डकी विजयी भएको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्बल, नेपाल पुलिस क्बल र गण्डकी प्रदेश विजयी भएका हुन् । तेस्रो दिनको पहिलो खेलमा कोशी प्रदेश सशस्त्र पहरी बलको एपिएफ क्लबसँग ३–१ को सेटमा पराजित भएको हो । एपिएफले कोशीलाई २५–२२, २५–२१, २४–२६ र २५–१५ ले पराजित गरेको हो ।

दोस्रो खेलमा पुलिसले आर्मीलाई ३–२ को सेटमा पराजित गरेको हो । खेलमा पुलिसले पहिलो र दोस्रो सेट २५–२२, २५–२१ ले जितेपनि त्यसपछिको सेट लगातार २४–२६, २३–२४ ले गुमाएको थियो । पाचौं सेटमा पुलिसले आर्मीलाई १५–७ को सेटमा हराउँदै खेल आफ्नो पोल्टामा परेको हो ।

शुक्रबारको अन्तिम खेलमा गण्डकीले आयोजक किङ्स पोखरालाई ३–१ को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २१–२५ ले गुमाएपनि त्यसपछिको सेट २५–२०, २५–२१ र २५–२० ले जित्दै खेल आफ्नो पोल्टामा परेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार लिग चरणका ३ खेल हुने प्रतियोगिता संयोजक थमन गुरुङले जानकारी दिए । शनिबार पहिलो खेलमा एपिएफ क्बलसँग त्रिभुवन आर्मी क्लब, दोस्रो खेलमा गण्डकीसँग कोशी र अन्तिम खेलमा आयोजक किङ्ससँग नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्ने उनले बताए ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन भएको प्रतियोगितामा आयोजक किङ्स क्लब पोखरा, विभागीय नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र गण्डकी प्रदेश भलिबल संघ गरी कुल ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । फेवा मल्टिप्रोडक्ट पोखराको मुख्य प्रायोजनमा बुधबारदेखि सुरु भएको पतियोगिता मंसिर १५ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको विजेता टोलीलाई नगद ४ लाख रुपैयाँ प्रदान गरिने क्लबका अध्यक्ष अशोक गुरुङले जानकारी दिए । उनका अनुसार उपविजेताले २ लाख ५० हजार रुपैयाँ, तेस्रो हुने टोलीले १ लाख रुपैयाँ र सान्त्वना स्थान हासिल गर्ने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिताबाट सर्वोत्कृष्ट हुने खेलाडीलाई २० हजार रुपैयाँ तथा उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।