पोखराको टेम्पल ट्रि रिसोर्टलाई तेस्रो पटक उत्कृष्ट करदाता सम्मान

-


     क्लिक गण्डकी     
     मंसिर ८ गते २०८३ मा प्रकाशित


पोखराको टेम्पल ट्रि रिसोर्टलाई तेस्रो पटक उत्कृष्ट करदाता सम्मान

पोखराको टेम्पल ट्रि रिसोर्टलाई तेस्रो पटक उत्कृष्ट करदाता सम्मान

पोखरा, ७ मंसिर/ पोखराको लेकसाइडमा रहेको टेम्पल ट्रि रिसोर्ट एण्ड स्पाले उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ ।

आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा कास्की जिल्लाबाट बढी आयकर दाखिला गर्ने करदाता मध्ये रिसोर्टलाई छनोट गरी सम्मान गरेको हो । रिसोर्टले यस अघि पनि दुई पटक सम्म उत्कृष्ट करदाताको सम्मान पाइसकेको थियो ।

राष्ट्रिय कर दिवस तथा कर सप्ताह समापनका अवसरमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुङ्गानाले रिसोर्टका अध्यक्ष बसन्त गौतमलाई दोसल्ला, माला तथा सम्मानपत्र प्रदान गरे ।

सम्मान ग्रहण गर्दै अध्यक्ष गौतमले प्रचलित कानुन र कर प्रणालीको पूर्ण पालना गरी व्यवसाय सञ्चालन गर्दै आएकोमा सरकारले त्यसको उचित मुल्याङकन गरेको बताए । यो रिसोर्ट १७ वर्ष देखि संचालनमा रहेको छ । उनले रिसोर्टमा ६८ कोठा रहेको बताए । रिसोर्टमा सुपर डिलक्स १८, सुइट ४ र बाँकी ४६ वटा डिलक्स कोठा रहेको संचालक गौतमले बताए ।

Temple Tree Resort And Spa

यस वर्ष आन्तरिक राजस्व कार्यालय पोखराले कास्कीबाट तीन संस्थालाई उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको छ । टेम्पल ट्रि रिसोर्टसँगै पोखरा–५ मालेपाटनमा रहेको एक्सेस कन्स्ट्रक्सन प्रालिका सञ्चालक विद्या लक्ष्मी लामिछाने र पोखरा–१३ कुडहरस्थित कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष माधवप्रसाद सिग्देल सम्मान गरेको हो ।

आर्थिक वर्ष २०८१/८२ मा आयकरतर्फ बढी कर दाखिला गरेका, कर बक्यौता नरहेका तथा कुनै पनि कर अवधिको कर विवरण बुझाउन बाँकी नरहेका करदातालाई उत्कृष्ट करदाताका रूपमा छनोट गरिएको कार्यालयले जनाएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुङले राज्यलाई सबैले समयमै र उचित रूपमा कर तिर्नुपर्ने बताउँदै करबाट प्राप्त राजस्व मुलुकको विकास, सार्वजनिक सेवा प्रवाह र समृद्धिको आधार रहेको बताए ।

प्रमुख कर अधिकृत ढुङ्गानाले राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा कर सचेतना अभिवृद्धि, कर सहभागिता बढाउने तथा कर प्रशासन र करदाताबीचको सम्बन्ध सुमधुर बनाउने उद्देश्यले विभिन्न सचेतनामूलक तथा अन्तरक्रियात्मक कार्यक्रम गरेको बताए ।