
गण्डकीका अधिकांश स्थानमा वर्षा, मनाङमा सबै भन्दा धेरै
पोखरा, १४ कात्तिक/ गण्डकी प्रदेशका अधिकांश स्थानमा पछिल्लो २४ घण्टामा मध्यम वर्षा भएको छ। केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा मापन भएको छ ।
स्वचालित मौसम मापन केन्द्रहरूको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा मनाङ जिल्लाको तालस्थित मौसम मापन केन्द्रले गरेको छ । उक्त केन्द्रमा १११ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
अहिले पनि विभिन्न स्थानमा वर्षा भइरहेको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन प्रशासनले आग्रह गरिएको छ।
वर्षाका कारण बाढी, पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले सुरक्षित स्थानमा रहन, जोखिमयुक्त क्षेत्रमा आवतजावत नगर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना लिन सम्बन्धित निकायले अनुरोध गरेको छ।







