
पोखरामा ग्याँस अभाव, उपभोक्तालाई सास्ती, भरि सिलिण्डर वितरणको माग
पोखरा, २५ असार/ पोखरा सहित कास्कीका केही क्षेत्रमा खाना पकाउने एलपी ग्याँसको अभाव भएका कारण उपभोक्ताले सास्ती खेप्नुपरेको छ ।
आधा परिमाण (७.१ केजी) ग्याँस भरेर सिलिण्डर वितरण गर्ने व्यवस्था लागू भएपछि बजारमा सिलिण्डरको संख्या बढे पनि ढुवानी, वितरण र व्यवस्थापनमा समस्या देखिएको व्यवसायीहरूको भनाई छ ।
उपभोक्ताले भने केही पसलमा ग्याँस पाइए पनि नियमित रूपमा नदिइने, आज–भोलि भन्दै फर्काइने तथा प्राथमिकताका आधारमा वितरण गरिने गुनासो गरेका छन् ।
बजारमा ग्याँसको माग बढेसँगै आपूर्ति सहज बनाउन नेपाल आयल निगमको निर्णयअनुसार उद्योगहरूले केही महिनाअघि देखि १४.२ केजीको सट्टा ७.१ केजी ग्याँस भरिएका सिलिण्डर बजारमा पठाउन थालेका थिए ।
एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष तथा ओम आर ग्याँस सप्लायर्स रामबजारका सञ्चालक नारायण दाहालले कास्कीमा समग्र रूपमा गम्भीर अभाव नभए पनि केही स्थानमा वितरणमा समस्या देखिएको बताए ।
दाहालका अनुसार आधा सिलिण्डर वितरण सुरु भएयता बजारमा सिलिण्डरको माग करिब ५० प्रतिशतले बढेको छ । आफ्नै पसलमा दैनिक ६० देखि १३० वटा सिलिण्डर बिक्रीका लागि आउने गरेको बताए ।
ग्याँस बिक्रेता महासंघका केन्द्रीय उपाध्यक्ष नारायण पौडेलले अहिले देखिएको समस्या कृत्रिम अभाव नभई आधा सिलिण्डर नीतिका कारण ढुवानी खर्च बढ्नु र उद्योगहरूसँग पर्याप्त स्टक नहुनु रहेको बताए ।
पोखरामा केही समय बिक्री भएका त्रिवेणी, गीता, आरती र नमस्ते लगायतका ग्याँस ब्रान्डको आपूर्ति सहज नभएकाले ती कम्पनीका सिलिण्डर भएका उपभोक्ता बढी समस्यामा परेको दाबी गरे ।





