
दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ः वर्ष महिला खेलाडी को बन्ला?
पोखरा, २९ बैशाख/ दशौंं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ को मिति नजिकिएसँगै मनोनयनमा परेका खेलाडीमध्ये उत्कृष्ट को होला भन्ने चर्चा चल्न थालेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा विभिन्न ९ विधामा अवार्ड प्रदान गर्दैछ ।
वर्ष महिला खेलाडीको मनोनयनमा परेका ३ जनामध्ये सर्वोत्कृष्ट एकजनाले अवार्डसहित स्कुटर प्राप्त गर्नेछन् । मनोनयन पर्नेहरुमा एथ्लेटिक्सकी नारायणी भण्डारी, जुडोकी मनीषा तामाङ र आर्चरीकी मोनिका राना मगर हुन् । उनीहरुको समान विशेषता भनेको सबैजना स्पोर्टस् अवार्डका लागि पहिलोपल्ट मनोनयनमा परेका हुन् ।
नारायणी भण्डारी (एथ्लेटिक्स)
गएको जेठमा १५ औं राष्ट्रपति रनिङ शिल्डमा कीर्तिमानसहित उत्कृष्ट प्रदर्शन गरेकी नारायणी भण्डारी आफैँलाई पनि कति इभेन्ट खेलेर कति वटा पदक हात पारेँ भन्ने हेक्का छैन । भाग लिएका हरेकजसो प्रतियोगितामा उनले कुनै न कुनै पदक नजिती फर्किन्नन् ।
१५ औं राष्ट्रपति रनिङ शिल्डमा उनले २८ वर्षअघिको रेकर्ड तोडेर चर्चामा आएकी थिइन् । ८०० मिटर दौड उनले मात्र २ मिनेट १७ सेकेण्ड ९ मिली सेकेण्डमा पूरा गर्न सफल भइन् । सोही प्रतियोगितामा उनले १५०० मिटरमा स्वर्ण र रिले दौडमा रजत पदक हासिल गरेकी हुन् ।
प्रदेश खेलकुद परिषद् गण्डकीले उनको यो उपलब्धिको कदर गर्दै गत वर्ष वर्षकै सर्वोत्कृष्ट खेलाडीको रुपमा नगद ४३ हजारसहित पुरस्कृत गरेको थियो ।
सन् २०२५ मा उनी पोखरा ओपन नेशनल एथलटिक्स मिटमा १५०० मिटर दौडमा समेत सिनियर नेशनल च्याम्पियन बनेर अझ चम्किएकी छन् ।
छोरेपाटन माध्यमिक विद्यालयकी यी छात्रा नारायणीले यतिखेर १२ को परीक्षा दिएकी छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको १० औं पोखरा स्पोर्टस् अवार्डको अर्को विधा ‘पिपुल्स च्वाइस अवार्ड’ मा समेत उत्कृष्ट ५ को मनोनयनमा परेकी छन् ।
यसरी दोहोरी अवार्डका लागि दाबेदार नारायणीले खुसी हुँदै भन्छिन्, ‘नयाँ अपरच्यूनिटी पाइयो । यसले हामीलाई अझ हौसला दिन्छ । खेलाडीको मनोबल बढ्दै जाँदा अरु खेलाडीहरु पनि उत्पादन हुँदै जान्छन् ।’
मनीषा तामाङ (जुडो)
मनीषा तामाङको खेल करियर तेक्वान्दोबाट सुरु भएको हो । नेपालमा कोरोना महामारीपछि भने उनी बिस्तारै जुडोतर्फ मोडिइन् । उनले अहिले भने एकपछि अर्को पदक दिलाउँदै आएकी छन् ।
नुवाकोट ककनीबाट पोखरा आएको उनको परिवारमा दिदीबहिनीहरु पनि खेल क्षेत्रमै छन् । २ दिदीहरु विपना र सोनी तामाङ कबड्डीका राष्ट्रिय खेलाडी हुन् । एक बहिनी सुष्मी पनि तेक्वान्दो खेल्छिन् । सामान्य आर्थिक स्थिति रहेको उनको परिवारमा बाबुआमाका ५ सन्तानमध्ये १२ वर्षीय एक भाइ पनि छन् । मनीषा हाल पोखरा–१४, खाल्टेमसिना बस्छिन् ।
पोखराको अमरसिंह माविबाट कक्षा १२ उत्तीर्ण गरेकी उनी ब्ल्याक बेल्टसमेत हुन् । पोखरा रंगशालामा लामो समयदेखि निःशुल्क जुडो सिकाइरहेका रवि चौधरीसँग उनले नियमित जुडो सिकिरहेको बताइन् ।
२१ वर्षीया मनीषाले २०८२ माघमा हेटौडामा सम्पन्न २० औं राष्ट्रिय जुडो प्रतियोगितामा ७८ केजी तौल समूहमा रजत पदक जितेकी थिइन् । यसैगरी, जुनियर ओपन नेशनल जुडो च्याम्पियनसिप–२०८१ मा ५७ केजी तौल समूहमा रजत जितेकी जितिन् । दोस्रो प्रदेशस्तरीय जुडो प्रतियोगिता–२०८१ मा स्वर्ण जितेकी उनले नेकोस छैटौं अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिप–२०२३ मा जुनियर ९६३ केजी तौल समूह० र पोखरामै सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा ६० केजी तौल समूहमा प्रतिस्पर्धी गरेकी थिइन् । नेपाली खेलकुदमा राम्रो हुँदै गएमा जीवनभर यसैमा लाग्ने आफूको लक्ष्य रहेको बताइन् ।
मोनिका राना मगर (आर्चरी)
आर्चरीमा झण्डै डेढ दशकदेखि सही निशाना लगाइरहेकी मोनिका राना मगर वर्ष खेलाडी ९महिला० विधामा मनोनयन हुने खेलाडी हुन् । धनकुटाको बेलाहारा स्थायी घर भएकी ३६ वर्षीया मोनिका हाल पोखरा नयाँबजार बस्छिन् । उनी यस्तो खेलाडी हुन्, जसले खेल र पढाइलाई सँगसँगै अघि बढाइन् । एमएस्सी माइक्रोबायोलोजी पूरा गरेर हाल लेखनाथ मेमोरियल स्कुलमा साइन्सतर्फ हेड अफ डिपार्टमेन्ट प्रमुखको जिम्मेवारीसमेत सम्हाल्दैआएकी छन् ।
पोखरा रंगशालामा भेटिरहने मोनिकाले सन् २०१४ देखि आर्चरी खेल्न थालेको बताउँछिन् । त्यसै वर्षको दोस्रो इन्डोर नेशनल गेममा स्वर्ण पदक हात पारेपछि उनमा खेल क्षेत्रमा उत्साह बढ्यो । त्यसो त सन् २०१४ मा कोरियामा भएको एशियन गेम खेल्ने मौका पाइन् ।
उनले २०८२ सालमा पोखरामा सम्पन्न सातौं नेशनल इन्डोर गेममा एकलतर्फ स्वर्ण जितेकी थिइन् । १३औं नेशनल आर्चरी च्याम्पियनसिपमा रजत पदक हात पारेकी उनी जापानमा हुन लागेको २० औं एशियन गेममा नेपालबाटै छनोट हुन सफल भएकी छन् ।
एकपछि अर्को सफलता हात पार्दै आएकी मोनिकाले नवौं राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत जितेकी हुन् । सन् २०१९ को १३ औं साउथ एशियन गेममा टिमतर्फ र सन् २०१८ मा बंगलादेशमा सम्पन्न आईएसएसएफमा कास्य जितेर नेपालको नाम राख्न चम्काएकी छन् ।
मनोनयमा परेपछि खुसी हुँदै उनी भन्छिन्, ‘लामो समय आर्चरी खेलिरहँदा यसरी मनोनयनमा परेको थाहा पाउँदा निकै खुसी लागेको छ । अवार्डले हामी जस्ता खेलाडीहरुको झन् उत्साह बढ्छ ।’





