
स्याङ्जा र पाल्पा जोड्ने पुल १४ वर्षमा ९० प्रतिशत भौतिक प्रगति
स्याङ्जा, २८ भदौ/ एउटा पुल बनाउन कति सयम लाग्छ, सरदर ३, ५ वा ७ वर्ष तर स्याङ्जा र पाल्पा जोड्ने गरी स्याङ्जामा बनेको पुल १४ वर्षमा बल्ल ९० प्रतिशत भौतिक प्रगति सकिएको छ । गण्डकी र लुम्बिनी प्रदेश जोडिने गरी स्याङ्जाको चापाकोटस्थित दामाचौर र पाल्पाको रामपुरस्थित कालीगण्डकीमा बनेको मोटरेबल ट्रसब्रिज (पुल) निर्माणको अन्तिम चरणमा पुगेको छ ।
२०६८ सालमा एमएस इलाइट र एसबिए निर्माण कम्पनी जेभी कपन काठमाडौँले चापाकोट नगरपालिका–८ दामाचौर; स्याङ्जा र रामपुर–६ पेकलुक, पाल्पा जोड्ने गरी बन्ने पुल तीन वर्षमा सक्नेगरि सम्झौता गरेको थियो । तीन वर्षमा सक्नुपर्ने पुल १४ वर्षमा बल्लतल्ल ९० प्रतिशत भौतिक र ८७ प्रतिशत आर्थिक प्रगति भएको छ ।
पुल १५ करोड ६८ लाख १३ हजार २६६ रुपैयाँमा निर्माण गर्ने गरी सम्झौता गरेको थियो भने पुलको भेरिएशन अर्डरपश्चात् १७ करोड ७१ लाख ४६ हजार ९९१ रुपैयाँ लागत पुगेको छ । तीन स्पानमा १८१.६९ मिटर लम्बाइको पुल वेल फाउन्डेसन डिजाइनमा काम गर्ने गरी दुई छेउमा पिल्लर राखेर नदीको मध्यभागमा पिल्लर बनाउने क्रममा डिजाइन अनुसार काम अगाडि नबढेपछि पुल बन्ने प्रक्रिया रोकिएको हो ।
डिजाइन अनुसार वेल १५/१५ मिटर जमिनमुनि दबिनु पर्नेमा पाँच मिटर तल चट्टान भेटिएपछि निर्माण कम्पनीले काम रोकेको थियो । सम्झौताको १० वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयको पुल महाशाखा काठमाडौले डिजाइन परिवर्तन गरेसँगै इलाइटले पुल निर्माणमा सक्रियता बढाएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।
तीन वर्षमा सक्नुपर्ने काम वर्षौंपश्चात ट्रस हाल्ने काम बल्ल सकिएको छ । ९० प्रतिशत काम सकिएको पुलको अब दुई स्पानमा सेलेभ ढलान हुन बाँकी रहेको इन्जिनियर दीक्षा बस्यालले जानकारी दिईन् । पुल निर्माणमा ढिलाइ हुनुमा बजेट अभाब र प्राविधिक समस्या प्रमुख कारण रहेको डिभिजन कार्यालयले स्पष्ट पारेको छ ।
सडक डिभिजनसँग निर्माण कम्पनीले आगामी बैशाखमा निर्माणको काम सक्नेगरी सातौँ पटक म्याद थप गरेको छ । सरासर काम गर्न पाए दुई महिनाभित्र सकिने निर्माण व्यवसायी श्याम केसीले बताए । डिजाइन गर्ने कम्पनीले गलत गर्दा पुलबाट आफू नराम्रोसँग घाटामा गएको उनले सुनाए ।
बुटवलबाट नवलपरासी हुँदै रामपुर–चापाकोट ज्याग्दीखोला कोरिडोरबाट पोखरा, पोखराबाट पर्वत हुँदै मुक्तिनाथबाट चीनसम्म पुग्न पुल निर्माणले सहज हुने अपेक्षा गरिएको छ । पुल सम्पन्न भएपछि स्थानीयस्तरमा उत्पादित कृषिजन्य वस्तु पोखरा, बुटवल, नारायणगढ पु¥याउन सहज हुने बताएका स्थानीयले पुल निर्माणमा ढिलाइ हुँदा मर्कामा परेको जनाए ।
समयमै पुल निर्माण नहुँदा चापाकोट क्षेत्रका स्थानीय बढि प्रभाबित भएका छन् । पाल्पाको रामपुरलाई कालिगण्डकी करिडोरले चितवनको नारायणगढस्थित ठूलो बजारसँग सिधै जोडिदा चापाकोट पछाडी पर्दै गएको स्थानीय दीर्घ पौडेलले जनाए । सम्झौता अनुसार पुल बनेको भए चापाकोट समेत तराईसँग सिधा सम्पर्क हुने बताउँदै पौडेलले भने, ‘ठूलो बजारक्षेत्रसँग सिधा सम्पर्क रहदा स्थानीयले आयआर्जन मार्फत आर्थिक प्रगति गर्ने थिए ।’





