
पोखरामा असार अन्तिम साता क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता
पोखरा, १८ असार / पोखराको नदीपुरमा असार २४ देखि २८ गतेसम्म हुने क्लबस्तरीय पुरुष भलिबल तथा भेट्रान्स भलिबल प्रतियोगिता हुने भएको छ ।
लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा पोखराको नदीपुरमा सञ्चालन हुने तेस्रो संस्करणको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक लामा अमृत गुरुङले तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताए । तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन एक टिममा सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद तथा राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने छ । यस्तै भेट्रान्स भलिबलमा ३८ वर्ष उमेर पुरा भएको खेलाडी मात्र समावेश गर्न पाइनेछ ।
उनका अनुसार प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।
क्लबस्तरीय पुरुष भलिबल प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने लामा अमृत फाउण्डेशन घान्द्रुकले जनाएको छ ।
प्रतियोगितामा आयोजना गरिएको भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन हुने अर्न्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए ।






