
एयर इन्डिया विमान दुर्घटनाः पूर्वमुख्यमन्त्री सहित २०४ यात्रुको मृत्यु
पोखरा, २९ जेठ/ भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणीसहित २०४ जनाको मृत्यु भएको छ ।
बिहिबार दिउँसो अहमदाबादबाट लन्डन जान लागेको एयर इन्डियाको फ्लाइट एआइ १७१ विमानमा २३२ यात्रुसहित १० क्रू मेम्बर सवार थिए ।
घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरुको अवस्था पनि अत्यन्तै गम्भीर छ र बचाउन मुश्किल देखिएको छ ।
दुर्घटनास्थलमा अहिलेसम्म १०० जनाको शव भेटिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
दुर्घटनामा परेको विमान बोइङ ७८७–८ एयरक्र्याफट हो । बिहिबार दिउँसो १ः३८ बजे (भारतीय समय) रने–वे बाट टेक अफ गरेको विमान १ः४० मै तल खसेको थियो ।
विमाननस्थलकै पर्खाल र एयर कस्टम कार्गो अफिस नजिकै विमान ठोक्किएको थियो । प्रत्यक्षदर्शीका अनुसार विमान उडान भर्दादेखि नै निकै तल उडिरहेको थियो ।
दुर्घटनापछि विमान दुई टुक्रा भएको निकै ठूलो आगोको मुस्लो देखिएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् ।
विमान ठोक्किएको पाँचतले भवन अहमदाबादको अस्पतालका डाक्टरहरुको आवास भएको बताइएको छ । विमान खसेर आगलागी हुँदा ३ जना डाक्टरको मृत्यु भएको छ भने ४५ जना डाक्टर घाइते भए विवरणहरु आएका छन् ।





