
गण्डकीको लगातार पाँचौ जित, प्रशिक्षक भन्छन् उपाधि लैजाने
पोखरा, १२ जेठ/ गण्डकी प्रदेश नवौं पिएम कप एनभिए लिगको पुरुष तर्फ लगातार पाँचौ जित निकालेको छ । गण्डकीले सुदुरपश्चिम प्रदेशलाई साझो सेटमा हराउदै शिर्ष स्थानमा उक्लेको हो ।
गण्डकीले सुदुरपश्चिमलाई २५–१३, २५–२०, २५–२० ले हराउदै अंक तालिकामा १५ अंक पु¥याएको छ । सुदुरपश्चिम अहिले सम्म अंक बिहिन छ ।
महिला तर्फ पुलिसले त्रिभुवन आर्मी क्लबलाई ३–२ ले हरायो । चौथो जितसँगै पुलिसले फाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ ।
पुलिसले आर्मीलाई २४–२६, २५–११, २५–१९, २१–२५ र १५–९ ले पराजित गर्यो । यो जितमा पुलिसले २ अंक जोड्यो । ११ अंक सहित शीर्षस्थानमा कायमै रहेको छ । ५ सेटमा पुगेको खेलबाट आर्मी क्लबले १ अंक जोड्यो । तर आर्मी लिग चरणबाट बाहिरिएको छ ।
आर्मीले ४ खेलमा मात्र १ अंक बनाएको छ । आर्मीले एक खेल पनि जित्न सकेको छैन् । सहभागी ६ टोलीमा आर्मीसँगै कर्णाली प्रदेश लिग चरणबाट बाहिरिएको छ ।
पुलिस, टिप टप न्यु डायमण्ड स्पोर्टस, नेपाल एपिएफ क्लब र एभरेष्ट शीर्ष ४ मा छन् । बाँकी खेलबाट शीर्ष २ तथा त्यसपछि रहने दुई टोलीको टुंगो लाग्नेछ ।
आजै भएको पहिलो खेलमा एभरेष्टले जित हासिल गरेको छ । एभरेष्टले कर्णाली लाई ३–० को सोझो सेटमा हरायो ।
थाइल्याण्डका ३ खेलाडी सम्मिलित एभरेष्टले कर्णालीलाई २५–१४, २५–७, २५–२० ले पराजित गर्यो । न्यु डायमण्डको ९ तेस्रो स्थानको एपिएफ र चौथो स्थानको एभरेष्टको समान ६ अंक छ । पुरुषतर्फ आज पनि ४ खेल हुनेछ ।
नेपाल भलिबल संघको आयोजनामा जेठ १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ।
सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष दुई टोलीले फाइनल र त्यसपछिका २ टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।





