
गण्डकी, पुलिस र हेल्प नेपालको दोस्रो जित
पोखरा, ९ जेठ/ नवौं पिएम कप एनभिए लिगमा पुरुष तर्फको खेलमा गण्डकी प्रदेश, नेपाल पुलिस क्लब र साविक विजेता हेल्प नेपालले दोस्रो दिन पनि विजय भएका छन् । गण्डकीले त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई र हेल्प नेपालले हेल्प नेपाल र सुदुरपश्चिम प्रदेशलाई सोझो सेटमा हराए ।
गण्डकी प्रदेशले आर्मीलाई २५–१६, २५–१८ र २५–२२ मा हराउदै ३ अंक जोड्दै अंकतालिकामा ६ अंक बनाएको छ । नेपाल पुलिस क्लबले कोशीलाई २५–१२, २५–१९ र २५–१५ को जित निकाल्दै ३ अंक थप्दै तालिकामा ६ अंक बताएको छ ।
त्यसै गरी हेल्प नेपाले सुदुरपश्चिमलाई २५–१९, २५–१७ र २५–१८ को जित निकाल्दै अंक तािलकामा ६ अंक पुर्यो । कोशी र सुदुरपश्चिमले अहिले सम्म कुनै अंक जोड्न सकेका छैनन् । पुरुष तर्फ आजै दुई खेल हुदैछन् ।
शुक्रबार नै भएको महिलातर्फ टिप टप न्यु डायमण्ड र नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबले एभेरेष्ट क्लबलाई ३–० सोझो सेटमा हरायो । पुलिसले एभेरेष्टलाई २५–१९, २५–१८ र २५–१८ मा हराउदै ३ अंक जोड्न सफल भयो ।
शुक्रबार भएको पहिलो खेलमा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबले कर्णाली प्रदेशलाई ३–० सोझो सेटमा हरायो । पोखराको कभर्ड हलमा भएको खेलमा न्यु डायमण्डले २५–१३, २५–१० र २५–१० को जित निकाल्यो ।
नेपाल भलिबल संघको आयोजनामा भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ । सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् ।
लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।





