
सडक
पोखरा, १५ फागुन/ सरकारले सवारी चालक अनुमति पत्र दिने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा उमेर हद बढाउने तयारी मस्यौदामा राखेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ पुगेको हुनुपर्ने व्यवस्था छ । नयाँ ऐनका लागि १८ वर्ष उमेर हद कायम गर्न मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।
त्यसै गरी हाल ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर हुनुपर्नेमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि भने २१ वर्ष हुनुपर्ने उमेर हद प्रस्ताव गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।







