
पिइए इन्जिनियरिङ तथा आईटी क्वीजमा मदरल्याण्ड मावि उत्कृष्ट
पोखरा, ४ फागुन/ पिइए एशोसिएसन प्रालिले आयोजना गरेको इन्जिनियरिङ तथा आईटी क्वीजमा पोखराको मदरल्याण्ड माविले एकलौटी नतिजा हात पारेको छ । हालै भएको प्रतियोगितामा मदरल्याण्ड मावि गण्डकी प्रदेशमा उत्कृष्ट ठहरिएको छ भने क्वीजको अन्तिम चरणको प्रतिश्पर्धाका लागि मदरल्याण्ड माविका मात्रै पाँचवटा समूह छानिएका छन् ।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यका अनुसार गण्डकी प्रदेशस्तरको छनोटमा विभिन्न विद्यालयका १ सय ३७ वटा टिमले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये अन्तिम आठवटा टिम प्रदेशबाट छानिएकोमा पाँचवटा टिम मदरल्याण्ड माविको रहेको उनले बताए ।
‘विभिन्न विद्यालयका १ सय ३७ वटा समूहले प्रतिश्पर्धा गरेका थिए । ती मध्ये प्रदेशबाट अन्तिम प्रतिश्पर्धाका लागि आठवटा समूह छानिने प्रावधान छ । गण्डकी प्रदेशबाट छानिएका आठमध्ये पाँचवटा समूह मदरल्याण्ड माविका छन,’ उनले भने, ‘यसले विद्यार्थीलाई हौसला मिलेको छ । नियमित पढाईका अतिरिक्त बाहिरी ज्ञानका लागि पनि विद्यालयले गरेको मेहनतको परिणाम हो ।’
अन्तिम राउण्डका लागि छनोटमा परेका समूहले केही समयपछि राजधानीमा हुने प्रतिश्पर्धामा सहभागिता जनाउनेछन् । नेपालभरबाट छानिएका समूहले अन्तिममा काठमाडौंमा फाइनल प्रतिश्पर्धा गर्ने उनले बताए । फाइनलमा उत्कृष्ट हुनेले नगद सहित पुरस्कार पाउनेछन् ।
‘विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सरिक गराउन सकियो भने ज्ञानको दायरा फराकिलो हुन्छ,’ उनले भने, ‘विद्यालयले त्यसका लागि हरदम प्रयास गरिरहेको छ ।’ उनका अनुसार सुरुवाती चरणमा यो प्रतिश्पर्धाका लगि देशभरका ७ सय हाराहारी विद्यालयका समूहले सहभागिता जनाउँछन् । पिइएले इन्जिनियरिङ र आईटी क्षेत्रका लागि मात्र हरेक वर्ष यस्तै प्रतिश्पर्धा गराउँदै आएको उनले बताए । इन्जिनियरिङ र आईटी क्षेत्रका लागि भौतिकशास्त्र अध्ययनरत विद्यार्थी मात्र यो प्रतिश्पर्धामा सहभागि हुन पाउँछन् ।
त्यसबाहेक यही प्रतिश्पर्धामा मदरल्याण्ड माविले नै गण्डकी प्रदेशस्तरमा पनि पहिलो, दोश्रो, तेश्रो र चौथो स्थान हासिल गरेको आचार्यले जानकारी दिए । ‘राष्ट्रिय प्रतिशर््पर्धाका लागि पाँचवटा टिममा मदरल्याण्डको प्रभूत्व रह्यो । त्यस्तै प्रदेशस्तरमा पनि चारवटा अवार्ड मदरल्याण्डले नै हात पारेको छ,’ उनले भने ।
उनका अनुसार प्रदेशस्तरमा उत्कृष्टका लागि अंकित पौडेल र सञ्जय पौडेलको टिम प्रथम भएको थियो । त्यस्तै सुदेश आचार्य र सन्दीप ढकालको जोडी द्वितीय भएको थियो । सुयोग अधिकारी र सिजन खत्रीको टिम तेश्रो तथा आशिष अधिकारी र आयोग्य सापकोटाको टिमले चौथो स्थान हासिल गरेको थियो । प्रदेशस्तरमा उत्कृष्ट हुने टिमले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पाइका थिए ।
मदरल्याण्ड माविले यसअघि पनि यस्तै क्वीजमा आफुलाई अब्बल सावित गराईसकेको आचार्यले बताए । पिइएले हरेक वर्ष आयोजना गर्ने प्रतिश्पर्धामध्ये दुईवर्ष अघि मदरल्याण्ड मावि नै देशभरमै उत्कृष्ट बनेको थियो । पिइए एशोसिएसन प्रालिले इन्जिनियरिङ र आईटी क्षेत्रका लागि स्नातक अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षाको तयारी कक्षा संचालन गर्दै आएको छ ।





