
पोखरा, २२ असार/ अबिरल वर्षाका कारण पहिरो जाँदा गण्डकी प्रदेशका स्याङ्जा, तनहुँ र पर्वतमा २ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् ।
स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोमा घर पुरिँदा २ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् । बिरुवा गाउँपालिका वडा ६, लामाखेतका ईश्वरी लम्सालको घर शनिबार दिउँसो पहिरोले पुरेको हो ।
पहिरोमा परी ज्यान गुमाउनेमा बिरुवा गाउँपालिका वडा ६, माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्मा हुन् । माझकोटका ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् । उनको खोजी भइरहेको छ ।
पहिरोमा सामान्य घाइते भएका ५ जनाको उद्धार भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी इन्द्रबहादुर रानाले बताए ।
त्यसै गरी तनहुँमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता भएका छन् । शुक्लागण्डकी नगरपालिका ७ काउरेकी हिरा नेपाली र सुनमाया कुमालको घरको सामान सार्ने क्रममा आएको पहिरोमा परेर उनीहरु बेपत्ता भएका हुन् ।
बेपत्ता हुनेमा ४० वर्षिया हिरा नेपाली, ३७ वर्षिया अनिशा बास्तोला र ६५ वर्षका श्याम भण्डारी छन् । पहिरोमा ४ जना घाइते भएका प्रहरीले जनाएको छ ।
अविरल वर्षाका कारण पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् ।
स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको हो । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।







