
पोखराको प्राइम सहकारी ठगी प्रकरणः थप तीन जना पक्राउ
पोखरा, ७ असार/ पोखराको गैह्पाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको बचत र सम्पती हिनामिना गरी ठगी गरेको कसूरमा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोली बिहीबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर भई पोखरा महानगरपालिका वडा नम्बर १८ बस्ने ५५ वर्षीयकी धनकुमारी गुरुङ, पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर १ स्थायी घर पोखरा ८ बस्ने ४७ वर्षकी सीताकुमारी गुरुङ र पोखरा ३ तेर्सापट्टी बस्ने वर्ष ४७ का जीवन सार्की रहेका छन् ।
पक्राउ परेका तीन जनालाई नै कसूर अभियोग बमोजिम सजायका लागि जिल्ला अदालत कास्कीमा पेस गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला सहकारी वकिलको कार्यालयले सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेलसहित ६५ जनालाई प्रतिवादी बनाएर आठदेखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको थियो ।





