
पर्वतको जलजलामा श्रीमान श्रीमतीको हत्या
पोखरा, २३ चैत/ चैत २० गते पर्वतको जलजलाका दम्पतीको हत्याको कारण लुटपाट भएको प्रहरीले आंशका गरेको छ । पर्वतको जलजला गाउँपालिका २ मल्लाज दह गाउँका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी पत्नी ६७ वर्षीया कमला जिसीको सोमबार राति धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
बिहीबार उनीहरुको एउटै चितामा अन्त्येष्टि भएको छ । विदेशमा रहेका छोराहरु घर फर्किएपछि पोष्टमार्टम गरेर प्रहरीले बा–आमाको शव जिम्मा लगाएको थियो । तीन छोरा मध्ये दुई छोरा कोरियामा र एक जना बेनीमा बस्थे ।
घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी खुमलाल भुसाल सहितको टोली गरीरहेको छ ।
जिसी परिवारले एकसातापछि पोखरामा जग्गा किन्ने तयारीमा थियो । जग्गा पास गर्ने मिति नजिकिँदै जाँदा रकम जुटाउन उनीहरु लगेका थिए । त्यही रकम लुट्ने उदेश्यले दम्पतिको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धान टोलीको निस्कर्ष छ ।
दम्पतिको हत्या सम्पति लुट्ने उद्देश्यले भएको निस्कर्षमा पुगेको प्रहरी पुगेपनि हत्या कसले गर्यो भन्ने पत्ता लगाउन सकेको छैन । हत्यापछि कमला जिसीले लगाएका सुनका गहना लुटिएको छ । घरमा अन्य सम्पत्ति पनि खोजतलास गरेको देखिएको प्रहरीको भनाई छ ।
जिसी परिवारले कास्कीको पोखरामा जग्गा किन्न तयारीमा रहेको थियो । सोही वडाका वडाध्यक्ष प्रकाशबहादुर घर्ती क्षेत्रीले उनीहरुले यही महिना पोखरामा एक डेढ करोडको जग्गा किन्न लागेको बताए । यसका लागि उनीहरुले केही दिनअघि मात्रै सहकारीमा ऋण मिलाई सकेका थिए ।
कोरियामा रहेका छोराहरुले कमाएको र सहकारीबाट ऋण लिएर जग्गा पास गर्ने तयारी रहेका थिए । सहकारीमा २७ गते मात्रै रकम लिने कागज मिलाएर फर्किएका थिए ।
तर उनीहरुले जग्गा पास गर्नका लागि घरमा रकम जम्मा गरेको शंकामा लुटपाट गरेको र त्यसक्रममा हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ । शंका लागेका व्यक्तिलाई पक्राउ गर्ने र सोधपुछ गर्ने काम भइरहेको प्रहरीको भनाई छ ।





