
गण्डकी प्रदेशमा ४० हजार, कास्कीमा १० हजार विद्यार्थी एसइईमा सहभागी
पोखरा, १५ चैत/ माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गण्डकी प्रदेशबाट ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएका छन् ।
परीक्षामा प्रदेशबाट नियमित तर्फ ३९ हजार ४२, प्राविधिक धार तर्फ १ हजार ३ सय ९० जना र ग्रेड वृद्धि तर्फ ४ सय ८६ जना गरी ४० हजार ९ सय १८ परीक्षार्थी सहभागी भएको शिक्षा बिकास निर्देशनालय गण्डकीका निमित्त महानिर्देशक अम्बिका प्रसाद आचार्यले जानकारी दिए ।
११ जिल्लाका १ हजार ३ सय ३२ विद्यालयका विद्यार्थीलाई २ सय १४ परीक्षा केन्द्र रहेका छन् ।
त्यसै गरी कास्कीबाट १० हजार १ सय ७४ जना परीक्षार्थी सम्मिलित भएका छन् । बिहीबारदेखि सुरु हुने परीक्षामा उनीहरुले पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा दिए ।
परीक्षार्थीमध्ये ५ हजार ३ सय २ छात्र र ४ हजार ८ सय ७२ छात्रा रहेको शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले बताए । कास्कीमा ३५ परीक्षा केन्द्र रहेका छन् ।
कास्कीमा सामुदायिक र संस्थागत गरी २ सय ८७ विद्यालयका परीक्षार्थीले परीक्षा दिएका हुन् । सामुदायिकतर्फ १ सय २२ तथा संस्थागततर्फ १ सय ६५ विद्यालय छन् ।
पोखराको अमरसिंह माविका ५ तथा खुलातर्फ १ जना दृष्टिविहीन सहित अन्य ४ न्यून दृष्टि भएका विद्यार्थीले परीक्षा दिँदै छन् । पोखराको सिर्जना बहिरा माविबाट १६ जना सुस्तश्रवण परीक्षार्थी छन् ।






