
ड्रागन बोट
पोखरा, १२ चैत/ पर्यटन राजधानी पोखराको बेगनासतालमा आयोजित प्रथम राष्ट्रिय ड्रागन डुङ्गा दौड प्रतियोगिता पुरुष तर्फ पाँच सय मिटरमा वाटर स्पोर्टस नेपाल प्रथम भएको छ । यस्तै नारा पोखरा दोस्रो र नेपाली सेनाको टिम तेस्रो भयो ।
महिला तर्फ पाँच सय मिटर डुङ्गा दौडमा बेगनासताल डुङ्गा व्यवसायी समिति पहिलो हुदाँ बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदिबहिनी समूह फेवा तेस्रो भए ।
त्यसै गरी दुईसय मिटर ड्रागन डुङ्गा दौड प्रतियोगितामा पुरुष तर्फ नारा पोखरा प्रथम, वार स्पोर्टस नेपाल दोस्रो र फेवा मत्स्य व्यवसायी संघ तेस्रो भयो ।
दुई सय मिटर ड्रागन डुङ्गा दौड प्रतियोगिताको महिला तर्फ बेगनासताल डुङ्गा व्यवसायी समिति प्रथम, बेगनास ताल मत्स्य व्यवसायी संघ दोस्रो र जालरी दिदिबहिनी समूह फेवा तेस्रो भए ।
प्रतियोगितामा ३ महिला र ११ पुरुष गरी १४ समूहको सहभागिता रहेको थियो । २ सय र ५ सय मिटर गरी दुई वटा इभेन्टमा प्रतियोगिता सञ्चालन भएको थियो ।
पाँच सय मिटरका विजेताले नगद दुई/दुई लाख पुरस्कार हात पारे । यस्तै २ सय मिटर तर्फको विजेताले एक/एक लाख पुरस्कार प्राप्त गरेका छन् ।
पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, नेपाल ड्रागन सङ्घ गण्डकी र लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगिता भएको थियो ।





