
नयाँ व्यवस्थापनका साथ हिलसाइड अङ्ग्रेजी मावि
पोखरा, ४ चैत्र /गुणस्तरीय व्यावहारिक शिक्षाः हाम्रो सदीक्षा भन्ने उद्देश्यका साथ पोखराको हिलसाइड अङ्ग्रेजी माध्यमिक विद्यालय शैक्षिक सत्र २०८१ देखि नयाँ आयामका साथ अगाडि बढ्ने तयारीमा छ ।
पोखरा ५ मालेपाटनमा रहेको नेपालको शिक्षा क्षेत्रमा अब्बल पहिचान बनाएको प्रसिद्ध शैक्षिक प्रतिष्ठानमा लामो समयदेखि अनुभव सँगाल्नुभएका कुशल व्यक्तित्व डिल्लीराम भट्टराईले हिलसाइडको अबको नयाँ नेतृत्व लिने विषय विद्यालय निर्देशक लीला पराजुलीले बताए ।
शैक्षिक क्षेत्रमा लामो समय अनुभव लिएका होमनाथ भट्टराई र अञ्जु पोडेल पनि हिलसाइडको शैक्षिक विकासमा जोडिने कुरा विद्यालय जानकारी दिएको छ ।
यसै अवसरमा बाल्यकाल स्मरण गर्दै डिल्लीराम भट्टराईले कार्यक्रममा संस्कारयुक्त व्यावहारिक तथा गुणस्तरीय शिक्षाका लागि विद्यार्थी र अभिभावकलाई ढुक्क रहन आग्रह गरे । शैक्षिक सत्र २०८१ लाई नयाँ ढङ्गले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
त्यसका साथै शिक्षा र अवसरका लागि विदेश गई उतै बस्न खोज्ने युवाहरूलाई शिक्षा अध्ययन र सीप सिकिसकेपछि स्वदेश फर्केर केही गर्ने उत्प्रेरणा जगाउने उदाहरणका रूपमा विद्यालयलाई अगाडि बढाउने लक्ष्यका साथ आफू हिलसाइडसँग जोडिएको भट्टराईले बताए ।
त्यसै गरी आजका दिनबाट यस हिलसाइड अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले संरक्षकका रूपमा यस विद्यालयको भौतिक संरचना रहेको जग्गाका जग्गाधनी तथा पोखरा मालेपाटन निवासी समाजसेवी लोकनाथ बरालका छोराहरू बाबुराम बराल, रामजी बराल र पदमराज बराललाई पाएको कुरा विद्यालय बताएको छ।
शैक्षिक विकासका लागि विद्यालयको स्थापनाकालदेखि हालसम्म अविच्छिन्न रूपमा योगदान दिँदै आउनुभएका शिक्षककर्मचारी तथा संस्थापक सदस्यहरू र व्यवस्थापन समूहलाई यथावत् राख्दै आवश्यक सुधारका साथ थपिएर जाने बताए।
आउँदा दिनहरूमा विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि कुनै पनि कसर बाँकी नराख्ने कुरा व्यक्त गरिएको उक्त समारोहको सञ्चालन विद्यालयका संस्थापक, पूर्व प्राचार्य तथा सामाजिक अध्ययन विषयका शिक्षक नारायण भण्डारीले बताए ।





