
पोखरामा पर्यटकहरुलाई दुःख दिने ९ जना पक्राउ
पोखरा, १६ फागुन/ पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वीचोक, मुस्ताङ चोक स्थितमा सर्वसाधरण महिला तथा पुरुषहरु र अन्यत्र स्थानबाट आएका पर्यटकहरुलाई दुःख दिएको भन्दै कास्की प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
उनीहरुले जबरजस्ती सवारी साधनबाट ओरल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरु तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दुःख हैरानी, अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरेको कास्की निमित्त प्रहरी प्रवक्ता सुर्य बहादुर रानाले जानकारी दिए ।
उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्वको कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ ।
पक्राउ पर्नेहरुमा जिल्ला कास्की पोखरा मनपा वडा नं ९ बसपार्क बस्ने वर्ष ४० को रुपेन्द्र श्रेष्ठ, सोही ठाउँका ३२ बर्षीय मोहन आचार्य, पोखरा ९ नागढुङ्गाका नारायण अधिकारी, श्याम प्रसाद शर्मा, पोखरा ९ बसपार्कका विकास कुंवर, बिमल ठकुरी, विकास श्रेष्ठ, पोखरा १३ का रन्जन खड्का, पोखरा १७ ड्यामसाईडका सविन नेपाली रहेका छन् ।





