
नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पोखराका राजेन्द्र तामाङ नियुक्त
पोखरा, १० माघ/ नेपाल महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा पोखराका राजेन्द्र तामाङ नियुक्त भएका छन् । तामाङको नियुक्ति गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार जानकारी दिएको छ ।
एन्फाका महासचिव किरण राईले कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेखु र पेमा डोल्मा लामाको उपस्थितिमा मुख्य प्रशिक्षक तामाङलाई नियुक्ति पत्र हस्तान्तरण गरे ।
तामाङले यसै वर्ष साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपका लागि टोलीको प्रशिक्षण गर्ने छन् । प्रतियोगिता फेब्रुअरी १९ देखि २८ सम्म साउदी अरेबियामा हुनेछ ।
तामाङले प्रतियोगिताअघि बन्द प्रशिक्षणका लागि ४० सदस्यीय प्रारम्भिक टोली बोलाइसकेका छन् । उनी थ्री स्टार क्लबबाट ए डिभिजन लिग विजेता, नेपाल एपीएफ क्लब र मनाङ मस्र्याङ्दी क्लबका पुर्व मुख्य प्रशिक्षक हुन् ।
सहायक प्रशिक्षकमा कमला रखाल र श्याम मानन्धर र गोलकिपिङ प्रशिक्षकमा उज्वल मानन्धर नियुक्त भएका छन् । वृन्दा दिवान टोलीको व्यवस्थापक रहनेछिन् ।





