
पोखरामा दाइँ महोत्सव, विदेशी पर्यटकले लिए नेपाली कृषि परम्पराको अनुभव
पोखरा, १२ मंसिर/ पोखराको पर्यटनलाई प्राकृतिक सौन्दर्यसँगै नेपाली मौलिक कला, संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले आयोजना गरिएको दाइँ महोत्सवमा विदेशी पर्यटक रमाएका छन्।
पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा महानगरपालिका–२९ लेखनाथस्थित नौबिसेटोलमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नारासहित महोत्सव आयोजना गरिएको हो।
नेपाली गाउँघरमा धान भित्र्याउने परम्परागत कृषि संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले जानकारी दिए ।
महोत्सवमा विदेशी पर्यटकले परम्परागत दाइँ गर्ने प्रक्रियालाई नजिकबाट अवलोकन गर्नुका साथै आफैँ सहभागी भएर नेपाली कृषि परम्पराको अनुभव लिए । गोरु लगाएर पराल रिगाउने, धान चुट्ने, धान बत्ताउने, धान भर्ने प्रक्रियाले पर्यटकलाई नेपाली ग्रामीण जीवन शैलीसँग जोडेको थियो।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस्ता कार्यक्रमले पर्यटकलाई नेपाली मौलिक कृषि परम्परा र ग्रामीण संस्कृतिसँग परिचित गराउन सहयोग पुग्ने बताए। पोखराको पर्यटनलाई प्राकृतिक सौन्दर्यमा मात्र सीमित नराखी संस्कृति र परम्परासँग जोड्नुपर्ने उनको भनाइ थियो।
नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विदेशी पर्यटकका लागि हिमाल, ताल र पदयात्रासँगै नेपाली मौलिक संस्कृति, खानपान र ग्रामीण जीवनशैलीले पर्यटकलाई आकर्षण गर्न सहयोग गर्ने बताए । उनले दाइँ महोत्सवले पर्यटकलाई नेपाली किसानको जीवन र सामूहिक श्रम संस्कृतिबारे बुझ्ने अवसर दिएको भनाई छ ।
महोत्सवका संयोजक हरिराम अधिकारीले आधुनिक कृषि प्रविधिको विस्तारसँगै हराउँदै गएको परम्परागत दाइँ संस्कृतिलाई संरक्षण गर्दै पर्यटनसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए। दाईँ महोत्सवमा विभिन्न प्रतियोगिता समेत राखिएको थियो । पोखरा महानगरपालिकाले कास्कीमा सबै भन्दा धेरै धान फलाउने, धेरै क्षेत्रफलमा धान लगाउने कृषकलाई नगद सहित सम्मान गरेको थियो ।







