
सहारा खेलकुद पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई प्रदान
पोखरा, ३० भदौ/ सहारा क्लब पोखराले वर्षेनी प्रदान गर्दै आएको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पत्रकार रोहितराज पराजुली पुरस्कृत भएका छन् ।
क्लब २८ औँ वार्षिकोत्सव तथा साधारणसभामा पराजुलीलाई नगद ३० हजार ५ सय रुपैयाँ ५५, दोसल्ला, सम्मानपत्रले सम्मान गरेको छ । पराजुलीलाई गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ, सहारा क्लब पोखराका अध्यक्ष केशबहादुर थापा र हिमश्री फुड्सका निर्देशक प्रकाश केसी लगाएतले सम्मान गरे ।
कार्यक्रममा क्लबका सदस्यहरूमध्येबाट सिद्धान्त थापामगरलाई ‘सहारा उत्कृष्ट सदस्य–२०८२’ बाट सम्मान गरिएको छ । यो अवसरमा क्लबमा आबद्ध सदस्य तथा उनीहरूका परिवारका सदस्यमध्ये कक्षा १२ वा सोभन्दा माथिको शैक्षिक योग्यता हासिल गरेका व्यक्तिहरूलाई समेत प्रशंसापत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्त्री गुरुङले खेलकुदको विकासमा खेलाडी, खेल संस्था र खेल पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताइन् । उनले खेलकुद क्षेत्रको विकासका लागि सरकार, निजी क्षेत्र, खेल संस्था र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउँदै प्रतिभावान् खेलाडी तथा खेलकुद पत्रकारलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा पोखरा–१०, बुद्धचोक निवासी सञ्जु गुरुङ र उहाँका पति सिअन म्याकभअले सञ्जुकी आमा चित्रकुमारी गुरुङको स्मृतिमा सहारा फुटबल एकेडेमीको सहयोगार्थ ७८ हजार रुपैयाँ क्लबका अध्यक्ष केशवबहादुर थापालाई प्रदान गरे । पोखरा महानगरपालिका–९ को कार्यालयले क्लबलाई कलर प्रिन्टर सहयोग गरेको छ । उक्त प्रिन्टर वडा अध्यक्ष दीपेन्द्र मर्सानीले क्लब अध्यक्ष थापालाई प्रदान गरे ।
कार्यक्रममा पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानी, हिमश्री फुड्सका प्रबन्ध निर्देशक प्रकाश केसी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष शोभा गौतम, अग्रज पत्रकार नारायण कार्की र पुरस्कृत पत्रकार रोहितराज पराजुली लगायतले सहारा उत्कृष्ट कार्य गर्दै आएकाले यसको निरन्तरताको कामना गरे ।





