छैटौं अन्नपूर्ण म्याराथन जेठ २० गते, १३ देशका खेलाडी सहभागी हुदै

-


     क्लिक गण्डकी     
     जेठ ६ गते २०८३ मा प्रकाशित


छैटौं अन्नपूर्ण म्याराथन जेठ २० गते, १३ देशका खेलाडी सहभागी हुदै

छैटौं अन्नपूर्ण म्याराथन जेठ २० गते, १३ देशका खेलाडी सहभागी हुदै

पोखरा, ५ जेठ/ साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले जेठ २० गते अन्नपूर्ण म्याराथनको छैटौं संस्करण गर्ने तयारीमा जुटेको छ । समितिले मौरिस हर्जोग (फ्रान्सेली पर्वतारोही) ले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा जेठ २०(जून ३) मा वर्षेनी म्याराथन आयोजना गर्दै आएको छ ।

अन्नपूर्ण आधारशिविर (एबीसी) बाट शुरु भई दौड माछापुच्छ«े आधार शिविर, बगर,देउराली, हिन्कु केभ, हिमालय, दोभान, बाम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाडाँ, किम्रोनखेल, उरी हुदैं घान्द्रुक आईपुग्ने छ । दौडमा १३ विदेशीसहित ४० धावकले सहभागिता जनाउने निश्चित भईसकेको छ । ८ जना बेलायती भने भने थाईल्याण्ड, फ्रान्स, हल्याण्ड लगायतका देशका धावकहरुको सहभागित रहने समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिए ।

महिला तथा पुरुष दुवै विधामा हुने प्रतिस्पर्धाका विजेता धावकले नगद एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । समितिका अनुसार अर्जेन्टिनाका धावक पाब्लो उरेटाको समेत म्याराथनमा सहभागिता रहने छ । प्रतियोगिताको लागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान समितिले गरेको छ ।

४१३० मिटरको उचाईबाट शुरु हुने यो दौड कास्कीको पर्यटकीय गाँउ घान्द्रुक आएर टुंगिने छ । एभरेष्ट म्याराथनपछिको सर्वाधिक उचाईको यो दौडले पर्यटन प्रवद्र्धन मात्रै नभई पर्वतारोही मौरिस हर्जोगको सम्मानार्थ समेत आयोजना गरिएको समितिले उल्लेख गरेको छ ।

मौरिस हर्जोगले सन १९५० जून ३ मा विश्वको आठहजार मिटर अग्लो हिमाल आरोहणको कीर्तिमान अन्नपूर्ण हिमाल आरोहण गरेर कायम गरेका थिए । सोही दिनलाई कास्कीबासी तथा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ ।