
१४ वर्षपछि जावलाखेल आहा रारा गोल्डकपको फाईनलमा
पोखरा, ७ फागुन/ उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनलमा प्रबेश गरेको छ ।
२०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै फाइन प्रबेश गरेको हो ।
१४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार पोखरामा प्रतिस्पर्धा गर्ने छ ।
खेलको ५२ औं मिनेटमा कुसान गानिजानोभले आत्मघाती गोल गरेपछि जावलाखेल फाईनल यात्रा तय गर्न पर्याप्त रह्यो । जावलखेल ६० औं मिनेटमा १० खेलाडीमा सीमित भएपनि गोललाई जोगाई राख्यो । र्सादोवेक मातुमारोभलाई मुक्का हानेपछि युवराज ढकालले रातो कार्ड खाँदै बाहिरिएपछि जावलाखेल त्यसपछिको समय दशजनामा सीमित बन्यो ।
सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनामा आयोजित पच्चीसौं संस्करणको आहा रारा पोखरा गोल्डकपको शनिबार फाईनल खेल आयोजक सहारा र जावलाखेल युथ क्लब बीच हुने छ ।
सहारा र जावलाखेल युथ बीचको फाईनल नयाँ प्रतिस्पर्धीको रुपमा मैदान उत्रिने छन् । जावलाखेल दोस्रो पटक फाईनल प्रवेश गर्दा सहारा भने फाईनल प्रवेश गरेको चौथो अवसर हो । विजेताले १४ लाख १ हजार नगदराशीसहित ट्रफी उचाल्ने छ । उपविजेताले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ ।





