एनएसजेएफ स्पोट्र्स अवार्डः दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी

-


     क्लिक गण्डकी     
     पौष २४ गते २०८२ मा प्रकाशित


एनएसजेएफ स्पोट्र्स अवार्डः दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी

एनएसजेएफ स्पोट्र्स अवार्डः दीपेन्द्र र एरिका वर्षको उत्कृष्ट खेलाडी

पोखरा, २४ पुस/ २२ औं एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र करातेकी एरिका गुरुङले उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् ।

पोखरा सभागृहमा सम्पन अवार्डमा दीपेन्द्र पुरुषतर्फ र एरिका महिलातर्फ वर्ष खेलाडी घोषित भएका हुन् । दीपेन्द्रले पहिलो पटक अवार्ड जित्दा एरिकाले लगातार दोस्रोपटक अवार्ड जितिन् । उनीहरू दुवैले पल्सर बाइक प्राप्त गरे ।

यसअघि संगिना वैद्य, गंगा अधिकारी र सावित्रा भण्डारीपछि दुई पटक जित्ने एरिका समग्रमा चौथो खेलाडी हुन् । यस्तै भोटिङका आधारमा प्रदान गरिने पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले प्राप्त गरे । उनले चार खेलाडीलाई भोटिङमा पछाडि पार्दै अवार्ड जितेका हुन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।

पिपल्स च्वाइस अवार्डको मनोनयनमा सुनारीसँगै क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली वरेका थिए ।

नेपाली महिला क्रिकेट टिमकी उपकप्तान पूजा महतोले उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरिन् । त्यस्तै तेक्वान्दोमा ९ डान प्राप्त गर्ने तुलसी गुरुङलाई एनएसजेएफ स्पेशल अवार्डबाट सम्मानित गरियो ।

पहिलोपटक भएको खो खो विश्वकपमा दुई ऐतिहासिक रजत पदक दिलाउने नेपालको महिला र पुरुष टिमलाई ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको छ । एथ्लेटिक्सकी प्रभा आङदेम्बेले उत्कृष्ट पारा एथ्लेटको अवार्ड प्राप्त गरिन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामालाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे । लामाले पनि पल्सर बाइक प्राप्त गरे ।

पूर्वखेलाडी खड्ग रानाभाटलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गर्न सफल भए । त्यस्तै विशेष अवार्ड ‘ट्रेलब्लेजर अफ दि इयर’ बाट पलेशा गोवर्धन अर्वाड प्राप्त गरिन् । उनीहरुलाई खेलकुदमन्त्री बब्लु गुप्ता, पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चाय, उपप्रमुख मन्जुदेवी गुरुङ लगाएतले अर्वाड प्रदान गरे ।

एनएसजेएफ स्पोट्र्स अवार्ड पहिलोपटक काठमाडौंबाहिर आयोजना भएको हो । ‘यसपटक काठमाडौं बाहिर आयोजना गरेर नयाँ सुरुवात भएको छ । आगामी दिनमा अवार्ड अझ भव्य रुपमा आयोजना गर्ने एनएसजेएफका अध्यक्ष निरन्जन अधिकारीले बताए ।