
पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने
पोखरा, ७ मंसिर/ पोखरा भलिबल प्रशिक्षण केन्द्र, नदीपुरको आयोजनामा तथा ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेस, न्यूरोड, पोखराको सह–आयोजनामा पोखरामा क्लबस्तरीय पुरुष महिला भलिबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगितामा केन्द्रका अध्यक्ष कुलबहादुर छन्त्यालले केन्द्रको नवौं वार्षिकोत्सव तथा क्लब स्तरीय पुरुष–महिला भलिबल प्रतियोगिता गर्न लागिएको बताए । छन्त्याल ब्रदर्श पोखराको विशेष सहयोग र गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा हुन लागेको हो ।
प्रतियोगिता मार्फत राष्ट्रिय खेल भलिबलको विकासमा टेवा पु¥याउने, लुकेर रहेका प्रतिभाहरूलाई दक्ष बनाई व्यवसायिक खेलाडी उत्पादन गर्ने तथा भलिबल खेललाई चलायमान बनाउने लगायतका उद्देश्य रहेको उनले बताए ।
कार्यक्रमका संरक्षक पदम श्रेष्ठका अनुसार प्रतियोगिता मार्फत खेलकुदसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकता दिँदै, विगतका वर्षहरूमा कार्यक्रमबाट संकलित केही रकम असहाय, गरिब, तथा दुःखी पीडित नागरिकहरूको उपचारको लागि सहयोग जस्ता समाजिक उत्तर दाइितका कामहरू समेत गरिदै आइएको छ ।
प्रतियोगितामा क्लबस्तरीय पुरुष भलिबलको प्रथम र द्वितीय हुनेलाई क्रमशः एक लाख ५० हजार रुपैयाँ, एक लाख रुपैयाँ नगद सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी दिए ।
प्रतियोगितामा सान्त्वना पुरस्कार स्वरुप सेमिफाइनलका उपविजेता २ टिमलाई २५ हजार रुपैयाँ नगद प्रदान गरिने छ । महिला भलिवल प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमशः ६० हजार र ४० हजार रुपैया नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिएको हो ।
खेलकुदमा उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सभैर र प्रशिक्षकलाई उत्कृष्ट विधागत उपाधि समावेश गरिएको छ । त्यसैगरी रेफ्री संयोजक अन्तराष्ट्रिय रेफ्री टहलसिंह थापा मगरले खेल प्रतियोगिता पुरुषतर्फ लिग सिस्टममा र महिलातर्फ नकआउट सिस्टममा खेलाइने बताए ।
पत्रकार सम्मेलनका नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले प्रतियोगिताको सफलताको शुभकामना दिए ।





