पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब

-


     क्लिक गण्डकी     
     मंसिर ४ गते २०८२ मा प्रकाशित


पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब

पोखराको लालीगुराँस फुटबल क्लबलाई प्रेसिडेन्ट लिगको उपाधि, भयो ‘ए’ डिभिजन क्लब

पोखरा, ३ मंसिर/ चित्लाङ फुटबल क्लबलाई टाई ब्रेकरमा हराउदै पोखराको लालीगुराँस फुटबल क्लबले मकवानपुरमा मंगलबार सम्पन्न एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि चित्लाङलाई टाई ब्रेकरमा ३–१ ले हरायो । फाइनलको पेनाल्टी सुटआउटमा विपक्षी प्रहारहरु असफल बनाएका लालीगुराँसका गोलकिपर अञ्जन श्रेष्ठ फाइनलको प्लेयर अफ दी म्याच तथा प्रतियोगिताको उत्कृष्ट गोलकिपर घोषित भए ।

लालीगुराँसकै आशिष गुरुङ, नव जन जागृतिका सुजन डंगोल र काक्रेविहारका अनिश घर्ती उच्च गोलकर्ताको पुरस्कारबाट बिभुषित हुँदा चित्लाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी चुनिए । यसैगरी नव जन जागृतिले फेयर प्ले टिमको अवार्ड पायो ।

विजेता टोली तथा खेलाडीलाई एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र महासचिव किरण राईलगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगिताको सेमिफाइनल पुगेर लालीगुराँस र चित्लाङसँगै काक्रेविहार र नव जन जागृती पुष ९ बाट हुने राष्ट्रिय लिगका लागि छनोट भएका छन् । राष्ट्रिय लिगमा प्रेसिडेन्टस कपका शीर्ष चार टिमसँगै पछिल्लो पटक भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।