
एभरेस्ट महिला भलिबलः रोमाञ्चक खेलमा लुम्बिनीको जित, काठमाडौको पहिलो जित
पोखरा, २२ भदौ/ एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा घरेलु टोली पोखरा निन्जाजलाई ३–२ को सेटले पराजित गर्दै लुम्बिनीले पहिलो जित दर्ता गरेको हो ।
पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै खेलमा पकड जमाएको थियो पोखराले दोस्रो सेट २५–२३ र तेस्रो सेट २५–१० ले आफ्नो पक्षमा पा¥यो । तर, निकै प्रतिष्पर्धात्मक भएको चौथो सेटमा २८–२६ ले लुम्बिनीले जित निकाल्दा खेल पाँचौं सेटमा धकेलिएको थियो ।
पाँचौ सेटमा सुरुआतबाटै अग्रता बढाउँदै लुम्बिनीले १५–१० को सहज जित दर्ता ग¥यो । पहिलो जितसँगै लुम्बिनीले २ अंक जोडेको छ । ३ खेलमा जितविहीर रहेको पोखराले एक अंक जोडेको छ ।
लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ को सेटमा पराजित भएको थियो । पोखराले भने लगातार तेस्रो हार बेहोरेको छ । पोखरा पहिलो खेलमा कर्णाली यशविश र दोस्रो खेलमा मधेश युनाइटेडसँग पराजित भएको थियो । यसअघि आजै भएको पहिलो खेलमा काठमाडौं स्पाईकर्सले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको थियो ।
आइतबार नै भएको अर्को खेलामा काठमाडौं स्पाईकर्सले पहिलो जित दर्ता गरेको छ । काठमाडौंले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित ग¥यो ।
पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाडौंले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाडौंले लिगमा पहिलो जित दर्ता गरेको हो ।
काठमाडौंले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पा¥यो । काठमाडौं र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।
लिगको चौथो दिन सोमबार दुई खेल हुनेछन् । पहिलो खेल कर्णाली यसविश र काठमाडौं स्पाईकर्सबिच हुनेछ । अर्को खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग २८ भदौसम्म चल्नेछ ।





