
गण्डकी प्रदेश सभा भवन २५ कराडमा निमार्ण हुदै, यस्तो बन्दैछ भवन
पोखरा, ३ भदौ/ गण्डकी प्रदेश सभा भवनको मंगलबार शिलान्यास भएको छ । मुख्यमन्त्री सरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरे । भवन २५ करोड ३७ लाख लागत लाग्ने छ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
भवनका लागि श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभी सँग निर्माण सम्झौता भएको प्रदेश संसद् सचिवालयले जनाएको छ । अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्याउने र जगको काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ । मुख्यमन्त्री पाण्डेले छिटो काम सक्न निर्देशन दिए । ‘निर्माण अवधि ३ वर्षको भएपनि २ वर्षमै सकिदिनुस्,’ उनले भने, ‘हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला ।’
संसद् भवन बनाउनका लागि यसअघि डेढ अर्बको डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो । भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने छ । भवन ७ रोपनी क्षेत्रफलमा बन्ने छ ।
भवन ३ तलाको हुनेछ । भुइँतलामा ५ वटा संसदीय दलको कार्यालय, ५ वटा भीआईपी कार्यालय निर्माण हुनेछ । भीआईपी कार्यालयहरू मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवको हुने छन् । त्यसमाथिको तलमा संसद्को बैठक कक्ष बन्नेछ ।
७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ । दर्शक दीर्घाका लागि छुट्टै ८० जनाको कक्ष निर्माण हुन्छ । त्यसबाहेक सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ । सँगै पार्किङ र चमेना गृह बनाइने छ । तत्कालीन नगर प्रशिक्षण केन्द्रको हलमा संसद् चलाइएको छ ।





