
च्याम्पियन्स लिग (काभा) मा हेल्प नेपालले कास्य जित्न सफल
पोखरा, ८ साउन/ नेपाली लिग च्याम्पियन टिप टप हेल्प नेपाल स्पोर्टस क्लबले माल्दिभ्समा भएको काभा मेन्स च्याम्पियन्स लिगमा कास्य पदक जितेको छ ।
तेस्रो स्थानको लागि भएको खेलमा श्रीलंकाको पुलिस क्लबलाई ३–१ ले हराएको हो । पहिलो सेट २५–२० तथा दोस्रो सेट २५–१५ ले जितेको हेल्प नेपालले तेस्रो सेट २०–२५ ले गुमाएको थियो । चौथो सेटमा २५–२३ को जित निकाल्दै हेल्प नेपालले कास्य पदक जितेको हो ।
हेल्प नेपाल लिग चरणको ५ मध्ये ४ खेलमा विजयी भएको थियो । सेन्ट्रल एसियन भलिबल एसोसियन (काभा) को आयोजना भएको च्याम्पियन्स लिगमा काभाका सदस्य रहेका ५ देशका लिग च्याम्पियन क्लब र आयोजकको उपविजेता समेत गरि ६ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिता सिंगल राउण्ड रोबिनका आधारमा भएको थियो । दुवै पटकको सहभागितामा हेल्प नेपालले पदक जितेको छ । गत वर्ष स्वदेशमा भएको च्याम्पियनसिपमा हेल्प नेपालले रजत पदक जितेको थियो ।





