
सहाराका ६ जना खेलाडी ब्रिगेड ब्वाइजमा अनुबन्धित
पोखरा, २८ माघ/ सहारा क्लब पोखराका ६ जना खेलाडी सहिद स्मारक ‘बि’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि ब्रिगेड ब्वाइज क्लब, ललितपुरमा अनुबन्धित भएका छन् ।
क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा तेस्रो ब्याचका खेलाडीहरुमध्ये ६ जना सोमबार ब्रिगेड ब्वाइजमा अनुबन्धित भएका हुन् ।
क्लबका अध्यक्ष केशवराज बरालले खेलाडीहरु विशाल नेपाली, मुकुन्दकुमार निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई ब्रिगेड ब्वाइजको जिम्मा लगाएका हुन् ।
यसैबीच, ब्रिगेड ब्वाइजले सहारा फुटबल एकेडेमीमा रहेका खेलाडीको उत्थानको लागि सहयोगस्वरुप २ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । कार्यक्रमबारे एकेडेमी संयोजक एवं सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले प्रकाश पारेका थिए । संचालन क्लब सचिव टंक पौडेलले गरेका थिए ।
सहारा एकेडेमीमा हाल चौथो ब्याजका रुपमा ३० जना बालकहरु आश्रित छन् । उनीहरुले निःशुल्करुपमा शिक्षा, दीक्षा, आवासीय सुविधा सहित फुटबल सिकिरहेका छन् । क्लबले बर्सेनि फुटबल प्रतियोगिता आयोजना गरेर बचत रकम एकेडेमीमा खर्चिंदै आएको महासचिव रामजीप्रसाद अधिकारीले बताए ।





