
एपीएफलाई हराउँदै मछिन्द्र आहा रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा
पोखरा, २३ माघ/ पोखरामा जारी २४औं आहा रारा पोखरा गोल्डकपमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउदै मछिन्द्र क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । मछिन्द्रले एपीएफलाई २–० को गोलले हरायो ।
मछिन्द्रको जितमा आदित्य शाक्य र स्टेफन कामाहाले १÷१ गोलको योगदान दिए । खेलको ७४ औं मिनेटमा मछिन्द्रका आदित्य शाक्यले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले आयुष घलानले मैदानको सेन्टरबाट दिएको पासलाई उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे ।
त्यस्तै, खेलको ८१ औं मिनेटमा मछिन्द्रका विदेशी खेलाडी स्टेफन कामाहाले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । कामाहले देवेन्द्र तामाङले हानेको फ्रिकिकमा हेड मार्फत गोल गरे । एपीएफका किपर बल रोक्न अघि बढेपनि उनले कुनै अवसर नै पाएनन् ।
अब सेमिफाइनल पुग्न मछिन्द्रले माघ २७ गते थ्री स्टार क्लबसँग खेल्नेछ । बिहीबारको खेल एनआरटी फुटबल क्लब र चर्च व्याइज युनाइटे बिच हुनेछ ।