
टाइगर कप भलिबल
पोखरा, १३ माघ/ पोखरामा पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा आइतबार ४ खेल हुने छन् । टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा दोस्रो दिन महिलातर्फ एक र पुरुषतर्फ ३ खेल हुनेछन् ।
महिलातर्फ आयोजक र त्रिभुवन आर्मी क्लबबिच पहिलो खेल हुनेछ । शनिबार भएको खेल खराब प्रकाशका कारण स्थगित भएपछि खेल आइतबार हुन लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ । त्यसपछि पुरुषतर्फका खेलहरु हुनेछन् ।
पुरुषतर्फ पहिलो खेल डिफेन्डिङ च्याम्पियन हेल्प नेपाल स्पोर्टस् क्लब र भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिमबिच हुने छ ।
दोस्रो खेल गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबिच हुनेछ । तेस्रो खेल शसस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लबबिच हुने आयोजकले जनाएको छ । यी खेलपछि लिग हुनेछ । जित्ने टोली र हार्ने टोलीको छुट्टाछुट्टै लिग सञ्चालन हुनेछ । जित्ने टोलीको समूहबाट शीर्ष दुई टोली पहिलो क्वालिफायर खेल्नेछ । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।
हार्ने टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिने छन् । एलिमिनेटरको विजेताले फाइलन प्रवेशका लागि पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग प्रतिष्पर्धा गर्नेछ । खेल हेर्न चाहने दर्शकले इसेवामार्फत पनि अनलाइन टिकट काट्न सकिने आयोजकले जनाएको छ ।
शनिबार भिजिबिलिटी कम हुँदा स्थगित भयो आर्मी र आयोजक टोलीबिचको खेल पोखरा एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लब र आयोजक टोलीबिचको खेल स्थगित भएको थियो । पहिलो दिनको अन्तिम खेलमा आर्मी र आयोजक टोलीबिचको खेलको तेस्रो सेटको खेल सकिँदा भिजिबिलिटी कम हुँदा स्थगित भएको हो ।
पहिलो सेटमा २२–२० को अग्रता जोगाउन नसक्दा आयोजक टोली २३–२५ ले गुमाउन पुग्यो । दोस्रो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पा¥यो । तेस्रो सेटमा भने उत्कृष्ट प्रदर्शन गर्दै आयोजक टोलीले २५–२१ ले जित हासिल ग¥यो । त्यसपछि रेफ्रि टहलसिंह थापाले दुई टोलीका कप्तानसँग छलफल गरी खेल स्थगित गरे । खराब प्रकाशका लागि खेल स्थगित गरिएको हो ।
यसअघि भएको खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गरेको थियो । यस्तै भएको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई ३–२ सेटले पराजित गरेको हो ।





