रास्वपाका सभापति रवि लामिछाने सहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

-


     क्लिक गण्डकी     
     पौष २५ गते २०८१ मा प्रकाशित


रास्वपाका सभापति रवि लामिछाने सहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

रास्वपाका सभापति रवि लामिछाने सहित ६ प्रतिवादी धरौटी बुझाएर रिहा

पोखरा, २५ पुस/ पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित ६ जना धरौटीमा रिहा भएका छन् ।

लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङले धरौटी रकम बुझाएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । स्रेस्तेदार खनालका अनुसार धरौटी रकम बुझाएसँगै उनीहरु सबै रिहा भएका छन् ।

न्यायाधीश नितिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईंलाई ३७ लाख, मीना गुरुङलाई ५ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङलाई ५ लाख र कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईंले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहने अदालतले जनाएको छ ।

लामिछानेविरूद्ध काठमाडौँमा पनि सहकारी सम्बन्धी अर्को मुद्दा रहेकाले पार्टी र परिवारको जिम्मा लगाइने र शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने जनाइएको छ । अदालतमा १० दिनसम्म भएको थुनछेक बहसपछि प्रतिवादीहरुलाई धरौटीमा रिहा गर्न आदेश आएको हो ।

पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिल कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा हालसम्म ६३ जनाविरुद्ध मुद्दा चलाएको छ ।



Tags: