पोखरा २३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान

-


     क्लिक गण्डकी     
     मंसिर १६ गते २०८१ मा प्रकाशित


पोखरा २३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान

पोखरा २३ पन्चासे भन्ज्याङमा हाई अल्टिच्युड खेल मैदान

पोखरा, १६ मंसिर/ पोखरा महानगरपालिका वडा नम्बर २३ पन्चासे भन्ज्याङमा निर्माण गरिएको हाई अल्टिच्युड खेलमैदानको उद्घाटन गरिएको छ ।

समुन्द्र सतहदेखि २ हजार ६५ मिटरको उचाइमा निर्माण गरिएको मैदानको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

पन्चासे भन्ज्याङमा बाला चतुर्दशीको अवसरमा हरेक वर्ष पञ्चासे आदर्श क्लबद्वारा पञ्चासे बाला चतुर्दशी तथा भलिबल प्रतियोगिता आयोजना गर्ने गरिएको छ ।

पञ्चासेलाई जैविक विविधता र धार्मिक तथा पर्यापर्यटनको हबका रूपमा विकास गरिने नगर प्रमुख आचार्यले बताउनुभयो । पञ्चासे क्षेत्र फेवातालको प्रमुख जलाधार क्षेत्र रहेको उल्लेख गर्दै उहाँले यसको प्राकृतिक तथा जैविक अवस्थामा असर नपर्ने गरी विकास गर्न विभिन्न विकास साझेदारहरूसँग सहकार्य गरिरहेको बताउनुभयो ।

पञ्चासेमा बालाचर्तुदशीका दिन हजारौँ श्रद्धालु भक्तजनहरू पुग्ने गरेकाले भन्ज्याङसम्म सुविधा सम्पन्न सडक निर्माणको प्रक्रिया अगाडी बढिसकेको उहाँले बताउनुभयो । घाँटीछिना हुँदै भन्ज्याङ र हर्पन हुँदै भन्ज्याङसम्म पुग्ने सडकको ट्र्याक खोलिसकिएको र नाला समेत निर्माण भइरहेकाले यो सडक सङ्घ, प्रदेश र महानगरपालिकाको समेत लागतमा निर्माण भइरहेको उहाँले बताउनुभयो ।

भन्ज्याङसम्म पुग्ने सडक कालोपत्रेका लागि दिगो पर्यटन विकास अन्तरगत एसियाली विकास बैङ्कसँग साझेदारी गरिएको र त्यहाँबाट पञ्चासेसम्म पुग्नका लागि भने सुविधायुक्त सिँढी बाटो निर्माण तथा मर्मत गरिने उहाँले बताउनुभयो । पञ्चासे क्षेत्र विश्व मै धेरै प्रजातिका अर्किडहरु पाइने स्थान भएकाले यसको संरक्षण तथा विकासका लागि महानगरपालिका प्रतिबद्ध रहेको नगर प्रमुख आचार्यले बताउनुभयो ।

भन्ज्याङमा निर्माण गरिएको खेलमैदान पोखरा महानगरपालिकाको २५ लाख, गण्डकी प्रदेश सरकारको ५ लाख, आदर्श क्लबको ३ लाख ७५ हजार र स्थानीय भक्त बहादुर गुरुङको ८० हजार लागतमा निर्माण भएको हो ।



Tags: