रवि, छवि सहितलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

-


     क्लिक गण्डकी     
     कार्तिक २५ गते २०८१ मा प्रकाशित


जिल्ला अदालत कास्की

जिल्ला अदालत कास्की

पोखरा, २५ कात्तिक/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो । रविसँगै सहकारी ठगी प्रकरणमा हिरासतमै रहेका पूर्वडीआइजी छविलाल जोशी, लीला पछाई र रामकुमार खनाललाई पनि १३ दिन म्याद थप गरिएको छ ।

उनीहरुविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा छ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि कात्तिक २ मा पक्राउ परेका लामिछानेमा अनुसन्धान गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियाबाट अपचलन भएको भन्दै पूर्वप्रबन्ध निर्देशक रविसहित पूर्वउपाध्यक्षसमेत रहेका पूर्वडीआईजी छविलाल जोशी, जीवी राइका साझेदार नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीवीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा लिला पछाईंलाई अदालतमा उपस्थित गराइएको हो ।

त्यसै गरी पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा देवकुमार नेपालीको बयान लिन सुरु गरेको छ । इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई कास्की ल्याएर सरकारी वकिलको कार्यालयमा बयान लिन सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेज सहकारीका अध्यक्ष नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए । रवि पक्राउको विरोधमा पोखरामा रास्वपाले आइतबार पनि विरोध प्रर्दशन गरेको छ ।



Tags: