
रवि लामिछाने
पोखरा, २ कात्तिक/ पुर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पार्टी कार्यालय वनस्थलीमा पक्राउ गर्न पुगेको प्रहरीसँग मिडियासँग छोटो प्रतिक्रिया दिने अनुमति पाएका लामिछानेले संक्षिप्त सम्बोधन गरेर प्रहरीसमक्ष आन्मसर्पण गरेका छन् ।
उनले अदालतबाट न्याय पाउने भए पनि त्यहाँ सेटिङ गर्न सक्ने भन्दै राज्यको दादागिरीविरुद्ध लड्न अपिल गरे । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले उनलाई कारबाही सिफारिस गरेको थियो ।
पोखराको सूर्यदर्शन समेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो ।
त्यसमा १ अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो । तर, २२ माघ २०८० मा सभापति लामिछानेसहित १८ जनाविरुद्ध कास्की प्रहरीमा फेरि पुरक जाहेरी परेको थियो ।





