
भलिबल
पोखरा, १७ असोज/ एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा गण्डकी थन्डर्सले पहिलो जीत दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार ललितपुर क्विन्सविरुद्ध ३–२ सेटको रोमाञ्चक जित निकाल्यो ।
पहिलो सेट २७–२९ ले गुमाएको गण्डकीले त्यसपछिका दुई सेट २५–२३, २५–१२ ले आफ्नो पक्षमा पारेको थियो ।
चौथो सेटमा ललितपुरले २५ १३ को सहज जित निकालेपछि खेल लम्बियो । गण्डकीले पाँचौं तथा निर्णयक सेटमा १५–७ ले आफ्नो पक्षमा पार्दै पहिलो जीत दर्ता गर्यो ।
जीतसँगै चार खेलमा चार अंक जोडेको छ । गण्डकीले यसअघि चितवन शक्ति र काठमाडौं स्पाइकर्ससँग समान ३–१ र कर्णाली यश्विससँग ३–२ को सेटमा पराजित भएको थियो ।
लगातार दोस्रो हार ब्यहोरेको ललितपुरले समान खेलबाट सात अंक जोडेको छ । यसअघि काठमाडौं र मधेश युनाइटेडलाई समान ३–१ को सेटमा हराएको ललितपुर कर्णालीसँग ३–० को सेटमा हार ब्यहोरेको थियो ।