
बुद्ध एयरको पहिलो एटीआर विमानलाई बिदाई
पोखरा, २५ भदौ/ नेपाली आकाशमा १६ वर्षदेखि उडिरहेको बुद्ध एयरको एटीआर–४२ विमान सोमबारदेखि सदाका लागि व्यावसायिक उडानबाट ‘बिदा’ भएको छ ।
मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहबीच सम्मानस्वरूप पानीको फोहोराले सलामी (वाटर स्यालुट) दिएर उक्त जहाजलाई बिदा गरिएको छ ।
जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छन् । तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन । हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपुर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साईकलभन्दा १ अतिरिक्त उडान पनि भर्न पाईदैन । यसपछि जहाजलाई विदाई गर्नैपर्ने हुन्छ ।
बुध्द एयरले सन् २००८ मा आइएफसीको ऋण सहयोगमा दुईवटा एटिआर–४२–३२० जहाज भित्र्याएका थिए । उसले आईएफसीकै ऋण सहयोगमा ह्यांगरको निर्माण पनि थालेको थियो । विगत १६ वर्षमा बुध्द एयरले १९ वटा एटीआर जहाजहरु भित्र्याईसकेको छ । बुध्द एयर एटिआर अपरेटरतर्फ संसारकै सातौं ठूलो एयरलाइन्स कम्पनी बन्न पुगेका छ ।
आज विदाई गर्न लागेको जहाज नेपाली रजिष्ट्रेशन 9N-AIN तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर MSN403 ले व्यवसायिक उडानमार्फत् ७० हजार उडान अतवरण पुरा गरेको छ । १६ वर्ष ३ दिने उडानका दौरानमा यसले अठार लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको छ ।
एटिआरले अहिलेसम्म हजारौं जहाजको निर्माण गरिसकेको छ । एटीआर जहाजको पूर्ण सञ्चालन अवधि पार गरि यसरी विदाई गर्न लागेको संसारमै आज पहिलोपटक हो ।
आजको विदाई कार्यक्रममा ‘एटिआर विमानहरुको मर्मतसम्भार र उडान सञ्चालनमा बुध्द एयरको टेक्निकल तथा अपरेसन टिम विकसित राष्ट्रकोभन्दा कम नरहेको बरु अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए । यसैगरि एटीआरका प्रतिनिधि‘ पवन तनवनीले – बुध्द एयरको जहाज रखराखव तथा दक्ष जनशक्तिको उच्च प्रशंसा गरे । कार्यक्रममा नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, विभिन्न बैंकका उच्च अधिकृतहरुको पनि उपस्थिती रहेको थियो ।
एटिआर जहाजहरुले यात्रुको आरामदायी उडान मात्र नभई, सहज भाडादरमा पनि उत्तिकै महत्वपूर्ण भूमिका खेलेको छ ।
बुध्द एयरले दैनिक १५० भन्दा बढि उडानमार्फत दसौं हजार यात्रुलाई सेवा प्रदान गरिरहेको छ । बुध्दले पोखराबाट नेपालगञ्ज, भैरहवा तथा चितवनको पनि सिधा उडान भरिरहेको छ । बुध्द एयरले धनगढी तथा सुर्खेतमा पनि उडान संख्या वृद्धि गरेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयरले साताको ३ दिन भारतको वाराणसी उडान भरिरहेको छ ।






