
प्राइम सहकारी
पोखरा, ७ असार/ पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन तथा सम्पती हिमामीना भएको ठगी मुद्दामा मुख्य योजनाकार प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापासहित ७ जना पुर्पक्षका लागि थुनामा गएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । ६५ जना प्रतिवादी रहेको मुद्दामा अदालतमा उपस्थित ९ मध्ये बाँकी २ जना धरौटीमा रिहा भए ।
सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङलाई ३५ लाख र सहकारी बैंकका पूर्व कर्मचारी सन्तोष घिमिरेलाई १ लाख धरौटीमा रिहा भए । घिमिरे भने अर्को सहकारी ठगी मुद्दामा कारागारमै छन् ।
सहकारीका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शंकर कार्की, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र सुकुमबासी समितिका उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला सहकारी वकिलको कार्यालयले सहकारी ठगीमा बलराम चापागाईं समेतको जाहेरीले सुरेन्द्रमणि पौडेलसमेत ६५ जनालाई प्रतिवादी बनाएर ८ देखि १० वर्षसम्म कैद सजाय तथा १ अर्ब ५७ करोड १५ लाख ८ हजार १ सय २४ रुपैयाँ बिगो रकम माग दाबीसहित आइतबार अदालतमा अभियोगपत्र दायर गरेको थियो ।





