
बंगलादेश पोखरा सीधा उडान गर्ने एयर एस्ट्राको तयारी
पोखरा, ३१ जेठ/ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बंगलादेशको निजी वायुसेवा कम्पनी ‘एयर एस्ट्रा’ले सीधा उडानको तयारी थालेको छ ।
एयर एस्ट्राले ढाका–पोखरा नियमित उडानको लागि प्रक्रिया अगाडि बढाएको हो । पोखरामा उडान सुरु गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा एयर एस्ट्राले निरन्तर सम्पर्क गरिरहेको नागरिक उड्डयनले प्राधिकरण जनाएको छ ।
नेपालको पर्यटकीय राजधानी पोखरामा १७ पुस ०७९ बाट सञ्चालनमा आएको विमानस्थलमा अहिलेसम्म एउटै नियमित उडान हुन सकेको छैन ।
ढाकाबाट पोखरामा अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि एयर एस्ट्राको नेपालस्थित जनरल सेल्स एजेन्ट (जिएसए) कम्पनीका प्रनितिधिले निरन्तर ताकेता गरिरहेको मन्त्रालयले जनाएको छ । त्यसो त एयर एस्ट्रा ढाका–काठमाडौं–ढाका रुटमा पनि उडान गर्न इच्छुक रहेको बताइन्छ ।
पर्यटन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एयर एस्ट्राको पोखरा उडानको प्रस्तावलाई अवसरका रूपमा लिएको छ । एयर एस्ट्राको पनि पहिलो अन्तर्राष्ट्रिय उडान सेवा हुनेछ । अहिले एयर एस्ट्राले बंगलादेशमा एटिआर ७२–६०० विमानमार्फत आन्तरिक उडान सेवा दिँदै आएको छ ।
अहिलेसम्म पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको सिचुवान एयरलाइन्स, भुटानको ड्रुक एयर, नेपालकै हिमालय एयरलाइन्स र चिनियाँ जनमुक्ति सेनाका दुई कार्गो विमानले अन्तर्राष्ट्रिय चार्टर्ड उडान गरेका छन् ।





