
अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका श्रेष्ठ र खोटाङकी राईलाई
पोखरा, २२ जेठ/ चौथो संस्करणको अन्नपूर्ण म्याराथनको उपाधि नेपाल आर्मीका होमलाल श्रेष्ठले जितेका छन् । गत वर्षका उपविजेता श्रेष्ठले निर्धारित ४२.१९५ किलोमिटरको दुरी ४ घण्टा १६ मिनेट २४ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । यद्यपि उनले उक्त दुरी ४ घण्टा १२ मिनेट ५१ सेकेन्डमा पार गरेका थिए ।
त्यसैगरी सोलुखुम्बुका अर्जुङ कुलुङ दोस्रो भए । उनले निर्धारित दुरी ४ घण्टा ३५ मिनेट १५ सेकेण्डमा पुरा गरेका गरे । उनी ५ दिन अघि मात्र एभरेस्ट म्याराथनको उपाधि चुमेर लगत्तै अन्नपूर्ण म्याराथनमा सहभागी भएका थिए । त्यसैगरी गतवर्षका विजेता जुम्लाका धिरबहादुर बुढा तेस्रो स्थानमा परे ।
उनले ४ घण्टा ४३ मिनेट ६ सेकेण्डको समयमा निर्धारित दुरी पार गरेका थिए भने उनले गत बर्ष उक्त दुरी ४ घण्टा १० मिनेट ५१ सेकेन्डमा पार गरी प्रथम स्थान प्राप्त गरेका थिए । द्वितीय र तृत्तिय स्थान प्राप्त गरेका राई र बुढ़ाले क्रमशः एक लाख, ७५ हजार नगद प्राप्त गरे ।
महिलातर्फ खोटाङकी राई प्रथम
महिलातर्फको उपाधि खोटाङका निर्मला राईले जितेकी छन् । उनले निर्धारित दुरी ५ घण्टा ३७ मिनेट ४७ सेकेण्डमा पुरा गरी राईले नगद १ लाख ५० हजार राशी पुरस्कार प्राप्त गरिन् । नेपाल आर्मीकी (डोल्पा घर भएकी) सुनसरी रोकायले ५ घण्टा ४५ मिनेट ३१ सेकेण्डमा दौड़ पुरा गर्दै दोस्रो स्थानामा रहिन् भने ओखलढुङ्गाकी छोकी शर्पाले ५ घण्टा ५६ मिनेट ५९ सेकेण्डको समय दुरी पार गर्दै तेस्रो स्थानमा आईन् ।
गत बर्ष पनि तेस्रो स्थान प्राप्त गरेकी शर्पाले ६ घण्टा ११ मिनेट १६ सेकेण्डमा दौड पुरा गरेकी थिईन् । महिलातर्फ पनि द्वितीय र तृतीय स्थान प्राप्त गरेका रोकाय र शर्पाले क्रमशः एक लाख र ७५ हजार प्राप्त गरे । दौड ४ हजार १ सय ३० मिटरको अन्नपूर्ण आधार शिविरबाट शुरु भई माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला उरी हुँदै घान्द्रुक ओर्लिएर समापन भएको थियो। महिला तर्फ १ विदेशी सहित ११ जना धाविकाको सहभागिता रहेको थियो ।
३ विदेशी ४९ जना पुरुष धावकको सहभागिता रहेको थियो । महिला तथा पुरुष गरी ६० जना धावकले भाग लिएकोमा २ जनाले बिचबाटै प्रतियोगिता छाडेका थिए । ४ विदेशी मध्ये ३ जना बेलाएती र १ स्क्टल्यान्डका धावकको सहभागिता रहेको थियो । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा सञ्चालित अन्नपूर्ण म्याराथनमा विजेता धावकहरुलाई म्याराथनका समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामलामन्त्री डा. टकराज गुरूङ, मूल आयोजक समितिका संयोजक एवं समितिका अध्यक्ष ललित गुरूङ लगाएतका विभिन्न व्यक्तित्वले पुरस्कार प्रदान गरेका थिए।
‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पुर्र्याउने उद्देश्यसहित समितिले २०७५ सालदेखि अन्नपूर्ण म्याराथन आयोजना गर्दै आएको हो।अन्नपूर्ण म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गत वर्षदेखि अल्टिमेट एडभान्चर नेपालको साथ र सहयोग रहेको समितिले जनाएको छ।
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहणको इतिहासमा विश्व कीर्तिमानी राखेको दिनलाई “अन्नपूर्ण आरोहण दिवस” मनाउने गरिन्छ । सोही दिनको सम्झनामा ‘अन्नपूर्ण म्याराथन’ आयोजना गरिएको अन्नपूर्ण म्याराथन प्रतियोगिताका संयोजक ललित गुरुङले बताए ।
समितिका अध्यक्ष ललित गुरूङको अध्यक्षता गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा. टकराज गुरूङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पण्डित गुरू आनन्द, प्रदेश सभा सदस्य प्रकाश बराल, पूर्वमन्त्री प्रकाश गुरूङ, नेपाल टुरिजम बोर्डका सदस्य ऋषिराम भण्डारी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना पोखराका प्रमुख डा. रविन कडायत लगाएतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरूङले पर्यटन पूर्वाधारको बिकास गर्नका लागि मौलिकतालाई जोगाई संरक्षणमा जोड दिनुपर्ने बताए । उनले अन्नपूर्णको पर्यटन पर्वधन गर्नका लागि गण्डकी प्रदेश सरकारले उचित निती निर्माण गर्ने जानकारी दिए । अर्थ पर्यटनको बिकास र बिस्तार गर्न सके रोजÞगारी सृजना र उत्पादनमा बलपुग्ने उनको भनाई थियो ।
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार पत्रकार पराजुलीलाई
२१ जेठ, अन्नपूर्ण कास्की ÷अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार २०८१ बाट नेपाल टेलिभिजनमा कार्यरत पत्रकार रविचन्द्र पराजुलीलाई प्रदान गरिएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा सञ्चालित यसवर्षको अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८१ पत्रकार पराजुलीलाई सम्मान गरिएको हो । पुरस्कारको राशि रु २५ हजार नगद, दोसल्ला र सम्मानपत्र रहेको छ । यो तेस्रो पुरस्कार हो ।
उनलाई समितिद्वारा आयोजित अन्नपूर्ण म्याराथन–२०८१ को समापन समारोहमा कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका आर्थिक मामला मन्त्री डा. टकराज गुरूङ, अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरूङले पराजुलीलाई सो पुरस्कार प्रदान गरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्न सञ्चारमाध्यमबाट पर्यटनसम्बन्धी समाचार सम्प्रेषण गर्ने पत्रकारलाई वार्षिक रुपमा पुरस्कृत गरिदै आएको छ ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्वउपाध्यक्ष राजबहादुर गुरुङको संयोजकत्वमा ५ सदस्यीय प्रतिभा छनौट समिति गठन गरेको थियो । समितिमा पत्रकार एवं अधिवक्ता हरिप्रसाद भट्टराई, समितिका मिडिया संयोजक टंकराज अधिकारी, समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलीप पौडेल सदस्य रहेका थिए ।
प्रतिभा छनौट समितिका संयोजक राजबहादुर गुरुङले अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारले आमसञ्चारकर्मीको हौसला थपेको बताउँदै पुरस्कृत प्रतिभाको थप हौसला अभिवृद्धि भई अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे । महोत्सव प्रचार संयोजक एवं प्रतिभा छनौट समितिका सदस्य टंकराज अधिकारीले पुरस्कृत प्रतिभाको व्यक्तितव र कृतित्वको बारे गरे ।
पुरस्कृत प्रतिभा रविचन्द्र पराजुलीले पुरस्कार प्राप्तिले आफ्नो दायित्व थपिएको बताउँदै भावी दिनमा अझ बढी समाचार लेख्न प्ररेणा मिल्ने बताए । पत्रकार पराजुली विगत २९ वर्षदेखि सुरूमा पोखरा र हाल काठमांडौलाई कार्यक्षेत्र बनाएर पर्यटन लगायतका विभिन्न क्षेत्रमा कलम चलाउँदै आएका छन् ।





